सीटीईभीटीले खुलाएको नर्सिङमा १२ हजारको आवेदन, सिट भने ९ सय ६०

सीटीईभीटीले खुलाएको नर्सिङमा १२ हजारको आवेदन, सिट भने ९ सय ६०

काठमाडौं : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले खुलाएको नर्सिङ परीक्षामा सहभागी हुन १२ हजार जनाको आवेदन परेको छ। तर सिट संख्या भने ९ सय ६० मात्र छ।

चिकित्सा शिक्षा ऐन अनुसार नर्सिङ पढाइका लागि आफ्नै एक सय बेडको अस्पताल चाहिने प्रावधान छ। साथै स्नातक तहमा नर्सिङ पढाउने मेडिकल कलेजले पीसीएल नर्सिङ पढाउन नपाउने प्रावधान छ।

यी दुवै प्रावधानले अधिकांश नर्सिङ कलेज बन्द भएका छन्। चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबिच जारी विवाद समाधान भएर डिप्लोमाको परीक्षा सन्चालन गर्ने बाटो खुले पनि नर्सिङ कलेजको समस्या भने उस्तै छ। 

आगामी शनिबार डिप्लोमाको परीक्षा लिन सीटीईभीटीले मेडिकल, इन्जिनियरिङ र कृषि तथा वन विज्ञानको परीक्षा खुलाएको छ। डिप्लोमा तह अध्ययन गर्न सीटीईभीटीले ४८ हजार सिट खुलाएको थियो।

सीटीईभीटीका अनुसार ४८ हजार सिटमध्ये ४४ हजारको मात्र आवेदन परेको छ।

प्रवेश परीक्षामा पाएको मेरिटका आधारमा भर्ना हुनेछ। मेडिकलतर्फको डेन्टल, ल्याब, रेडियोलोजीमा सिट संख्याभन्दा थोरै विद्यार्थीको आवेदन परेको छ। कृषि र वन विज्ञानका विषयमा पनि मागेको सिट संख्याभन्दा कम आवेदन परेको छ।

भदौ ७, २०८० बिहीबार १२:२३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।