दुई दाना कम्पनीविरुद्ध मुद्दा, चिया र मह कम्पनीमाथि अनुसन्धान हुँदै

दुई दाना कम्पनीविरुद्ध मुद्दा, चिया र मह कम्पनीमाथि अनुसन्धान हुँदै

चितवन : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। 

भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो।

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए। 

उनीहरुलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो।

दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद माग दाबी गरीएको छ।

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना सङ्कलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो। यस्तै गत आर्थिक बर्षमा यहाँका अन्य दुई उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो। चिया र मह उत्पादन गर्ने कम्पनीमाथि अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
 

भदौ ७, २०८० बिहीबार ११:३३:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।