विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ : संवेदनशील विषयमा ‘ठट्टा’ नगरौँ, महँगो पर्छ

विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ :  संवेदनशील विषयमा ‘ठट्टा’ नगरौँ, महँगो पर्छ

काठमाडौं : एमालेका उपमहासचिव विष्णु रिमालले उच्चस्तरीय जाँचबुझ आयोग गठनको सहमतिलाई सत्तारुढ दलकै नेताले ठट्टाका रूपमा लिएको भन्दै यस्तो संवेदनशील विषयमा ठट्टा नगर्न चेतावनी दिएका छन्। 

आज बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै रिमालले छानबिन आयोग बन्ने सहमतिलाई मजाकको रुपमा लिदा महँगो पर्ने चेतावनी दिएका हुन्। 

बुधबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आयोग गठनको विषयलाई लाज छोप्ने रङिन टालोको संज्ञा दिएका थिए। 

शर्माको सोही प्रतिक्रियाप्रति सङ्केत गर्दै एमाले उपमहासचिव रिमालले उनको नाम नलिई सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले ‘सहमति विपक्षलाई छक्क्याउने रङिन टालो’ भन्दै बिल्ला हान्नुले साथीहरूको नियतमा खोट भएको टिप्पणी गरेका हुन्।

बुधबार सुन तस्करीको विषयमा छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने प्रमुख दलहरुबीच सहमति भएको थियो। 

सो सहमतिपछि बुधबार संसद् बैठकबाट बाहिरिँदै गर्दा महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रङिन टालो भएको टिप्पणी गरेका थिए। 

शर्माको सोही भनाइप्रति रिमालले आपत्ति जनाएका हुन्।  रिमालले भनेका छन्, ‘अहिले यत्ति चाँहि भनौँ– मित्रहरू, यस्तो संवेदनशील विषयमा “ठट्टा” नगरौँ, महँगो पर्छ है?’

भदौ ७, २०८० बिहीबार १०:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।