सुदूरपश्चिममा गौरा पर्वको मुख्य दिन आज, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

सुदूरपश्चिममा गौरा पर्वको मुख्य दिन आज, राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना

बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आजदेखिसुरु भएको छ। भाद्र कृष्ण पञ्चमी अर्थात बिरुडा पञ्चमीदेखि सुरु हुने पर्वको आज गौरा भित्र्याइदै छ।

गौराष्टमीका दिन व्रत बसेका महिलाहरुले बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाअर्चना गर्छन्। साँझपख अभिषेक गरेर दुवो, धागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा छ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीत गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन्। यसै अवसरमा देउडा खेलेर रमाइलो गरिन्छ भने गौराको प्रसादका रूपमा बिरुडा ग्रहण गर्ने गरिन्छ।

गौरा पर्वमा पश्चिमी क्षेत्रको मुख्य परिकारका रुपमा रहेका माणा, सेल, पुरी, बटुक, खिर, मालपुवा, निसोसे जस्ता शाकाहारी खाना बनाउनुका साथै नयाँ कपडा लगाउने गरिन्छ।

गौरा पर्वको आगमनले यतिखेर सुदूरपश्चिममा चहलपहल बढाएको छ। गौरा विसर्जन नगरिएसम्म देउडा खेली रमाइलो गरिन्छ। काम तथा पढाइको सिलसिलामा घरभन्दा बाहिर रहेका सुदूरपश्चिम प्रदेश भरीका स्थानीयहरु गौरा पर्वका अवसरमा घर फर्कने गर्दछन्।  

यस्तै घर बाहिर रहेकालेसमेत आफू बसोबास गरेकै स्थानमा गौरा पर्व मनाउने गर्दछन्।

पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरी शिव पाएको विश्वासमा गौरा र महेश्वरको विवाहको सम्झना गर्दै यो पर्व मनाउने परम्परा चल्दै आएको हो।

यस पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा सभामुखले शुभकामना दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज शुभकामना दिँदै यस पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको जनाएका छन्।

राष्ट्रपति पौडेलले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले गौरा पर्वको उपलक्ष्यमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। उनले पर्वको सन्दर्भ पारेर खेलिने देउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको जनाएका छन्।

साथै प्रधानमन्त्री दाहालले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन्।

सभामुख देवराज घिमिरेले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको जनाएका छन्।

गौरा पर्वलगायतका विभिन्न संस्कृतिमा आधारित पर्वले नेपालीबीच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामनासहित उनले शुभकामना दिएका छन्।

यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस्ता मौलिक चाडले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन योगदान दिने विश्वास व्यक्त गरेकी छन्।

७ भदौ, २०८०, १०:३२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।