पहिरोका कारण चार सय परिवार डेढ महिनादेखि अन्धकारमा

पहिरोका कारण चार सय परिवार डेढ महिनादेखि अन्धकारमा
फाइल फोटो

म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन्। पहिरोले दरखोला दोस्रो लघु जलविद्युत परियोजनाको विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन्। 

मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको उक्त परियोजनाको विद्युतगृह गत असार अन्तिम साता बगाएको थियो। धौलागिरि–२ का वडाध्यक्ष अकप्रसाद विकका अनुसार परियोजना बगाउँदा चार वस्तीका तीन सय ७० परिवारको जनजीवन प्रभावित भएको छ। 

नहरको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युतगृह र पेनस्टक पाइप बगाएको छ। 

वि सं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर ६ महिनापछि पुनः सञ्चालन गरिएको थियो। लमसुङमा रहेको परियोजना  २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो। दरखोला दोस्रो लघु जलविद्युत परियोजना योसहित तेस्रो पटक पहिरोको चपेटामा परेको छ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा बिजुलीका लागि लघु जलविद्युत परियोजनामाथि निर्भर छन्।

उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको छ। विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न समस्या भएको छ।

भदौ ७, २०८० बिहीबार ०८:३८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।