गिरिबन्धु टी स्टेटबारे छानबिन जरुरी छैन, गर्न मन लागे गरे पनि हुन्छ : ओली

गिरिबन्धु टी स्टेटबारे छानबिन जरुरी छैन, गर्न मन लागे गरे पनि हुन्छ : ओली
फाइल तस्बिर

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नभएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ‌ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए।

उनले भने, ‘गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन्। बिना कानून पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ। जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ।’

अध्यक्ष ओलीले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवादसमेत दिए।

उनले थपे, ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु कि उहाँहरू लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो। हामी पहिल्यैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो। तर, यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो। यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो।’

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैँका लागि यस्ता तस्करीहरु रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने बताए।

भदौ ६, २०८० बुधबार २०:५१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।