विश्वकप वार्मअप खेल भारतका तीन शहरमा हुने, प्रत्येक टिमले दुई खेल खेल्ने

विश्वकप वार्मअप खेल भारतका तीन शहरमा हुने, प्रत्येक टिमले दुई खेल खेल्ने

काठमाडौं : भारतमा हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको लागि आधिकारिक अभ्यास खेलको घोषणा गरिएको छ।

१० टोलीले अक्टोबर ५ मा विश्वकप सुरू हुने हप्तामा दुईवटा आधिकारिक ५० ओभरको प्रतिस्पर्धा खेल्नेछन्, जसका खेलहरू भारतका विभिन्न तीन शहरहरूमा आयोजना हुनेछन्।

खेलहरू गुवाहाटी, हैदरावाद र तिरुवनन्तपुरममा २९ सेप्टेम्बरदेखि अक्टोबर ३ सम्म हुनेछ। यसले विश्वकप खेल्ने टोलीहरूलाई त्यहाँको अवस्थाको बारेमा जानकारी हुने आईसीसीले जनाएको छ।

वार्मअप खेलको पहिलो दिन गुवाहाटीमा बंगलादेशले श्रीलंकासँग, तिरुवनन्तपुरममा दक्षिण अफ्रिकाले अफगानिस्तानसँग र हैदराबादमा न्यूजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ।

दोस्रो दिन अर्थात ३० सेप्टेम्बरमा आयोजक भारतले गुवाहाटीमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डसँग खेल्दा पाँच पटकको विजेता अस्ट्रेलियाले त्यही दिन तिरुवनन्तपुरममा नेदरल्यान्ड्ससँग खेल्नेछ।

२ अक्टोबरमा गुवाहाटीमा इङ्ल्यान्डले बंगलादेशसँग र तिरुवनन्तपुरममा न्युजिल्याण्डले दक्षिण अफ्रिकासँग खेल्दा अभ्यास खेलको अन्तिम दिन ३ अक्टोबरमा तीन खेल हुनेछन्।

उक्त दिन गुवाहाटीमा अफगानिस्तानले श्रीलंकासँग, तिरुवन्तपुरममा भारतले नेदरल्याण्ड्ससँग र हैदराबादमा पाकिस्तानले अष्ट्रेलियासँग भिड्नेछ।

खेलहरू भारतीय समय अनुसार दिउँसो २ः०० बजे सुरू हुनेछन्। टोलीहरूले खेलका क्रममा आफ्ना १५ खेलाडीलाई नै मैदानमा उतार्न पाउनेछ।

भदौ ६, २०८० बुधबार २०:११:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।