चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेर भारतले रच्यो इतिहास, मोदीले भने- ‘अब चन्द्रमाका कथाहरू फेरिन्छन्’

चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेर भारतले रच्यो इतिहास, मोदीले भने- ‘अब चन्द्रमाका कथाहरू फेरिन्छन्’

एजेन्सी : भारतले चन्द्रमामा पुग्न सफल भएको छ। चन्द्रयान-३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेसँगै भारत चन्द्रमामा पुग्न सफल भएको हो।

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ। यसअघि अन्य ध्रुवमा पुगे पनि दक्षिणी धु्रवमा पुग्ने भारत पहिलो देश हो।

चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ।

श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले दिएको विवरण अनुसार चन्द्रयान–३ का मुख्यतया तीनवटा लक्ष्य राखिएको छ।

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डरको सफ्ट ल्यान्डिङ, ल्यान्डर र रोभर्ससँग चन्द्रमाको सतहमा अनुसन्धान गर्ने, चन्द्रमाको सतह भनिने रेगोलिथमा ल्यान्डरलाई अवतरण गर्ने र घुमाउने यसका तीन लक्ष्य हुन्।

चन्द्रयान–३ चन्द्रमामा टेकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्पूर्ण देशवासीलाई बधाई दिँदै अब चन्द्रमासम्बन्धी मिथकहरू बदलिने बताएका छन्।

‘हाम्रा वैज्ञानिकहरूको कडा मिहिनेत र प्रतिभाले हामी चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेका छौँ, जहाँ विश्वको कुनै पनि देश पुग्न सकेका छैनन्,’ दक्षिण अफ्रिकामा रहेका मोदीले भर्चुअल सम्वादमा भने, ‘अब चन्द्रमासँग सम्बन्धित मिथकहरू फेरिनेछन्, कथा पनि फेरिनेछन्, नयाँ पुस्ताका लागि भनाइहरू पनि फेरिनेछन्।’

भदौ ६, २०८० बुधबार १८:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।