उच्च अदालतले खारेज गर्‍यो बालेनले दायर गरेको रिट

उच्च अदालतले खारेज गर्‍यो बालेनले दायर गरेको रिट

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले सोधेको सात दिने स्पष्टीकरणविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले रिट उच्च अदालत, पाटनले खारेज गरिदिएको छ।

उच्च अदालतका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र रमेश ढकालको इजालसले बालेनले दायर गरेको रिट खारेज गरेको हो।

प्राधिकरणले विमानस्थल परिसरमा महानगरपालिकाका महानगर प्रहरीले अति संवेदनशील क्षेत्रमा प्रवेश गरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै महानगर प्रमुख शाहसहित महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे र वडाध्यक्षलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो।

तर महानगर प्रमुख बालेनले स्पष्टीकरण खारेजीको माग गर्दै उच्च अदालत पाटन पुगे। असार ७ गते अदालतले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश दिएको थियो।

असार १२ गतेको पेशीमा अन्तरिम आदेशको निरन्तरता दिएको थियो भने साउन २४ गतेको पेशीमा प्रमाण बुझ्ने निर्णय गरेको थियो। यस्तै भदाै ६ गते अर्थात आजको इजलासले पेश गरेको रिट नै खारेज गर्ने फैसला गरेको हो।

जेठ ३२ गते काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोलीले प्राधिकरणको निमार्णाधीन भवन परिसरभित्र पसेर तारबार काटेपछि प्राधिकरणले काठमाडौं महानगरपालिकालाई कारबाही गर्ने चेतावनी दिंदै पत्र काटेको थियो।

भदौ ६, २०८० बुधबार १८:२९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।