वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला, छुट र दैनिक उपहार योजना

वर्ल्ड ट्रेड सेन्टरमा तीज मेला, छुट र दैनिक उपहार योजना

काठमाडौं : नजिकिँदै गरेको तीजलाई लक्षित गर्दै काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा तीज मेलाको आयोजना गरिएको छ।

वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा डिइसीसी नेपालले तीज मेलाको आयोजना गरेको हो। बुधबारदेखि सुरु भएको मेला आगामी आइतबारसम्म चल्नेछ। अमन फाउण्डेशनकी अध्यक्ष तारादेवी गुरुङले मेलाको उद्घाटन गरिन्।

विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं संस्करण सुरू भएको डिइसीसी नेपालका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिए।

१०० भन्दा बढी स्टल रहने मेलामा तीजका लागि आवश्यक पर्ने सबै सामानका साथै दैनिक प्रयोगका सामान सस्तो मूल्यमा किनमेल गर्न सकिने गुरुङले जानकारी बताए।

उनका अनुसार मेलामा गैरनाफामुलक संस्थाहरूलाई निःशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए अझै स्टल थप गरेर उपलब्ध गराइनेछ।

विशेष गरी महिला उद्यमी तथा व्यवसायीहरूको व्यवसाय विस्तार एवं प्रवर्द्धनको लक्ष्यसहित मेला आयोजना गरिएको भन्दै उनले मेला अवलोकन गरी आवश्यक सामग्री खरिद गर्न आम उपभोक्तालाई आग्रह गरे।

नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताहरुको सहभागिता रहेको मेलामा लत्ता कपडा, कस्मेटिक, चुरा पोतेका साथै अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा ती ब्राण्डका तर्फबाट मेला अवलोकनकर्ताहरूलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ।

डे टू डे डोर प्राइजको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भइरहेको छ। फूड भौचर तथा डिस्काउण्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

भदौ ६, २०८० बुधबार १७:१८:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।