तीन वर्षपछि नेपाली आकाशमा उडान भर्दै थाइ एयरवेज
काठमाडौं : थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाइ एयरवेजले तीन वर्षपछि नेपाली आकाशमा उडान भर्न लागेको छ।
कोभिड–१९ महामारीका कारण अप्रिल २०२० देखि रोकिएको काठमाडौंको उडान नेपालका लागि जनरल सेल्स एजेन्ट तोकेसँगै पुनः सञ्चालन हुन लागेको हो।
कम्पनीले नेपालका लागि जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नियुक्त गरेको छ।
अगस्ट १ बाट लागू हुने एयरवेजले कम्पनीलाई जनरल सेल्स एजेन्ट नियुक्त गरेको हो।
योसँगै कम्पनीले एयरवेजका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवासहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउनेछ।
थाइ एयरवेजले सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान सञ्चालन गरेको थियो।
थाइ एयरवेजका चिफ कमर्सियल अफिसर कोराकोट चटासिङ्घाले थाइ एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे।
यसले नेपाली पर्यटक र यात्रुहरूको बढ्दो संख्याका लागि मात्र नभई दुई देशहरूबीचको आर्थिक गतिविधिहरूलाई समेत अभिवृद्धि गर्ने उनको विश्वास छ।
अष्ट्रेलिया, जापान, कोरिया, मलेसिया र विश्वका विभिन्न सहरहरूमा थाइ एयरवेजको उडान रहेकाले नेपालका यात्रुहरूलाई सहज र सुरक्षित उडान विकल्पहरू प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्षम हुने समेत उनले बताए।
यस्तै, नेपालका लागि एजेन्ट कम्पनी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले थाइ एयरवेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
उडान पुनः सञ्चालनले पर्यटकहरूलाई नेपाल भ्रमणका लागि थप कनेक्टिभिटी उपलब्ध गराएर नेपाली पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न पनि मद्दत गर्ने उनको विश्वास छ।
भदौ ६, २०८० बुधबार १६:४९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।