बिबिसी मास्टरसेफ सन्तोष साह कुकिङ रियालिटीको निर्णायक, सेफ नेपाल प्रसारणमा आउँदै
काठमाडौँ : बिबिसी मास्टरसेफ प्रोफेसनल २०२० को उपविजेता र बिबिसी मास्टरसेफ प्रोफेसनल रिम्याच २०२१ का विजेता सेफ सन्तोष साहले नेपालमा पाक सम्बन्धी रियालिटी शो को निर्णायक हुने भएका छन्।
भदौ २५ बाट प्रसारणको तयारी भएको सेफ नेपाल, फुड रियालिटी टिभी शोमा उनीसहित विशेषज्ञ सेफ गणेश बहादुर ढकाल र भान्से लक्ष्मण प्रसाद भण्डारी निर्णायक रहेका छन्।
कान्तिपुर टेलिभिजनबाट प्रसारणको तयारी भएको कार्यक्रम नेपालकै पहिलो प्रतिस्पर्धात्मक कुकिङ रियालिटी शो भएको आयोजकले दाबी गरेका छन्।
प्रतिस्पर्धाहरू स्थानीय व्यञ्जनहरूमा निपुण हुनुपर्ने, अनौठो चुनौतीहरूसँग अनुकूल हुनुपर्ने र प्रत्येक क्षेत्रका स्थानीय र परम्पराहरूसँग जोडिने गरी प्रस्तुति दिन पर्ने आयोजकले जानकारी दिएका छन्।
शृङ्खलाले प्रतिस्पर्धा, सांस्कृतिक आविष्कार र ग्यास्ट्रोनोमि-नवाचारलाई संयोजन गर्ने आयोजकको दाबी छ। प्रतिस्पर्धी मध्यबाट एक जना नेपालको पाक-दूत घोषित हुनेछन्।
कार्यक्रममा चर्चित व्यक्तित्वहरू समेत सहभागी हुने आयोजकले जानकारी दिएका छन्। कार्यक्रम उत्पादन गर्न एक फरक किचन सेट अप बनाएको र २० भन्दा बढी क्यामेराहरू प्रयोग गरिएको आयोजकको दाबी छ।
आयोजकले डिजिटल वालेट खल्तीसँग सहकार्य गरेका छन्। दर्शकहरूका लागि साप्ताहिक खल्ती क्विज समेत हुने र कार्यक्रमको धेरैजसो सामाजिक प्लेटफर्महरूमा डिजिटल रूपमा उपलब्ध हुने जानकारी दिइयो। सेफ नेपाल हरेक शुक्रवार बेलुका ९ बजे कान्तिपुर टिभीमा प्रसारण हुनेछ भने कान्तिपुर टिभी एप र कान्तिपुर टिभीको युट्युब च्यानलबाट समेत शो हेर्न सकिनेछ।
भदौ ६, २०८० बुधबार १६:१४:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।