एमाले र राप्रपाको बहिस्कारपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाका सांसदले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
बुधबार सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगतै एमाले र राप्रपाले उठेर विरोध जनाएका थिए। उनीहरूले सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बाहिरिएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।
बुधबारको बैठकमा प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो।
विश्वासको मत लिने प्रक्रियामा सभाध्याबाट गैरसंवैधानिक, गैर संसदीय अभ्यास भएकाले बुधबारको संसद बैठक बहिस्कार गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए।
त्यसपछि बोलेका एमाले सांसद तिलकुमार मेन्याङ्बोले अध्यक्षता गर्ने व्यक्तिले असंवैधानिक काम गरेकाले फेरि असंवैधानिक कदम हुनसक्ने भन्दै बैठक बहिस्कार गरेको बताए।
त्यसपछि एमाले सांसदले सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै संसदबाट बाहिरिएका थिए। सांसद बाहिरिएपछि सभाध्यक्ष इस्राइल मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरे।
भदौ ६, २०८० बुधबार १५:३३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।