नेपालको लगातार दोस्रो जित, कुवेतलाई ३४ रनले हरायो
काठमाडौं : चार देश सम्मिलित महिला टि–२० आई सिरिज अन्तर्गत कुवेतलाई ३४ रनले पराजित गर्यो।
जितको लागि ९० रनको मध्यम विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन मात्रै बनाउँदा नेपाले लगातार दोस्रो जित निकाल्यो।
कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाउँदा खादिजा खलिलले २२ बलमा १० रन बनाइन्।
अन्य कुनैपनि कुवेती ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालको लागि इन्दु बर्माले तीन, खुशी डंगोलले दुई तथा ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान एक–एक विकेट लिए।
त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पाहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनायो।
नेपालको जितमा इन्दु बर्माले सर्वाधिक २३ रन बनाउँदा काजोल श्रेष्ठले १९ रनको अविजित इनिङ खेलिन्। यी दुईबाहेक अन्य ब्याटर चल्न सकेनन्।
कुवेतकी महियम हैदरले चार, मर्याम ओमारले दुई तथा प्रियादा मुराली र खादिजा खालिलले समान एक–एक विकेट लिइन््।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो। चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ।
नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ। उक्त खेलमा विजयी भएमा फाइनलमा पुग्नेछ। पराजित भएमा अन्य टोलीको नेटरनरेटमा भर पर्नेछ।
शीर्ष दुईमा रहन सके शनिबार फाइनल खेल्नेछ। पराजित भएमा तेस्रो स्थानको लागि खेल्नेछ। नेपालले सोमबार थाइल्यान्डसँग पनि अभ्यास खेल खेल्नेछ।
त्यसपछि नेपालले अगष्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामै हुने आईसीसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ।
नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन्। समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन्।
भदौ ६, २०८० बुधबार १५:१२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।