जेबी टुहुरेलाई जनगायकको उपाधि दिने सरकारको निर्णय

जेबी टुहुरेलाई जनगायकको उपाधि दिने सरकारको निर्णय

काठमाडौं : सरकारले गायक जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो।

टुहुरेका ‘आमा दिदिबहिनी हो’, ‘बसाइ हिँड्नेको ताँतीले’, ‘बसन्त आयो’, ‘पुर्खाले’, ‘चेली आज किन’ लगायतका गीतहरू चर्चित छन्।

यस्तै बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६को उपदफा (१) बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

साथै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुने भ्रमण कार्यक्रम स्वीकृतसमेत गरेको छ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको ७६ वर्षको उमेरमा निधन भएकोमा श्रद्धाञ्जली अर्पण गर्दै मन्त्रीलगायत शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ।

भदौ ६, २०८० बुधबार १४:३५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।