‘अब मलाई नखोज्नु’ भन्ने सन्देश पठाएर सम्पर्कविहिन भए बुटवलका औषधी व्यवसायी गंगा ढकाल

‘अब मलाई नखोज्नु’ भन्ने सन्देश पठाएर सम्पर्कविहिन भए बुटवलका औषधी व्यवसायी गंगा ढकाल

बुटवल : बुटवलका औषधी व्यवसायी गंगा ढकाल ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्कविहिन भएका छन्।बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरिरहेका ढकाल शनिबार घरबाट हिंडेपछि सम्पर्कविहिन भएका हुन्।

५३ वर्षीय गंगा ढकाल २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी औषधि व्यवसायय गर्दै आएका थिए।

आइतबार बिहान चितवनबाट आफूले लगाएको हाफ पाइन्ट सहित ‘मलाई अब नखोज्नु’ भनी सन्देश पठाएका ढकाल अहिलेसम्म खोजी गर्दा समेत फेला नपरेको बताइएको छ।

मोबाइल र घडी समेत घरमा छाडेर गएका ढकाल सम्पर्कविहिन भएपछि परिवारले प्रहरीमा खबर गरेका थिए। 

बुटवलबाट शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुले पनि त्यसपछि ढकाल कहाँ गए केही पत्तो नभएको परिवारले जनाएको छ।

ढकाल आइतबार साँझ सबैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको प्रहरीले जनाएको छ। त्यसपछि भने उनी कहाँ गए सीसीटीभीले समेत देखाएको छैन। त्यही समय पुलबाट एक जनाले हाम फालेको सूचना गैंडाकोट प्रहरीमा पुगेको थियो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले २ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही आधारमा अहिले हाम फाल्ने व्यक्तिको खोजी भइरहेको बताए।

नदीमा हाम फाल्ने व्यक्ति ढकाल नै हुन भन्ने प्रमाणित नभए पनि नारायणगढ तर्फबाट गैंडाकोटतर्फ पैदलै गएका ढकाल गैंडाकोट पुगेको नदेखिएकोले उनै हुनसक्ने अनुमान गरिएको उनले बताएका छन्।

भदौ ६, २०८० बुधबार ०९:२६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।