पार्टी कमजोर बन्दै गएको माधव नेपालले स्विकारे, पपुलिस्टले युवालाई आकर्षित गरेको टिप्पणी

पार्टी कमजोर बन्दै गएको माधव नेपालले स्विकारे, पपुलिस्टले युवालाई आकर्षित गरेको टिप्पणी

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादीमा विचलन आएको स्वीकार गरेका छन्। उनले केन्द्रीय कमिटीको छैटौँ बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी पङतिमा आलस्यता,निराशा, निष्क्रियता पलायन जस्ता कमजोरी देखिएको उल्लेख छ।

उनले यस्तो हुनुको प्रमुख कारण पार्टीमा रहेका कतिपय व्यक्तिहरूबाट बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य रहेको र त्यस्ता केही व्यक्तिहरू पलायन भएर गइसकेको लेखेका छन्।

आँटको कमी, जिम्मेवारी लिने तर बहन नगर्ने, आत्मविश्वासको कमी, पार्टी सानो छ भन्ने लघुताभासले पार्टी कमजोर बन्दै गएको उल्लेख गर्दै उनले प्रत्यक्ष लाभ प्राप्त नभएको असन्तुष्टि, विरोधीले फैलाएको भ्रम र सामाजिक सञ्जाल मार्फत भएका कुप्रचारको प्रभाव पार्टीमा परेको उल्लेख गरेका छन्।
 

भुईँफुट्टाहरूका आवेगमा युवा जमात प्रभावित
उनले निराशाको प्रतिक्रियाका रूपमा अहिले समाजमा नकारात्मक मनोविज्ञान फैलिएको र त्यसले मुलुकको बौद्धिक जगतलाई समेत प्रभावित पारेको उल्लेख गरेका छन्।

यही मौकामा इतिहासले किनारा लगाएका कतिपय पुनरुत्थानवादीहरू लोकतान्त्रिक गणतन्त्रकै विकल्पको दिवा सपना देख्न थालेको र राजनीतिलाई इतिहास र सिद्धान्त भन्दा केबल क्षणिक लोरञ्जनाका रूपमा बुझ्न केही मध्यमबर्गिय भुईँफुट्टाहरूका आवेगले मुलुकको युवा जमातलाई प्रभावित पारेको टिप्पणी गरेका छन्।

'सस्तो निन्दा भत्सर्नाको असहिष्णु प्रतिक्रियाले सामाजिक संवादको रुपमा लिदैँछ' राजनीतिक प्रतिवेदनमा नेपालले लेखेका छन्।

नयाँ भविष्यको स्पष्ट मार्गचित्रका साथ एउटा सङ्गठित शक्ति अगाडि आउँदा त्यही तीव्रताका साथ समाजमा क्रान्तिकारी तथा प्रगतिशील ध्रुवीकरणको सम्भावना रहेको र एकीकृत समाजवादी त्यो शक्ति बन्नु पर्ने उनले लेखेका छन्।

सरकारको छवि बलियो
भ्रष्टाचार विरुद्धको पहलकदमीले सरकारको छवि राम्रो बनेको भन्दै उनले भुटानी शरणार्थी ललिता निवास र सुन तस्करी जस्ता घटनामा सरकारको तदारुकता प्रशंसनीय रहेको लेखेका छन्।

अहिले गठबन्धन बदलिने वा एकीकृत समाजवादी गठबन्धनबाट बाहिर निस्कने अवस्था नभएको भन्दै उनले केन्द्रदेखि प्रदेश सरकारमा पार्टी सहभागी रहेको र जहाँ सहभागी भएको छैन त्यसबारे गठबन्धनमा छलफल भइरहेको उल्लेख गरेका छन्।

प्रतिवेदनमा पाँच महिनापछि पार्टी महाधिवेशन गर्ने भएकाले सङ्गठनात्मक, विचारधारात्मक प्रचारात्मक आर्थिक सांस्कृतिक सबै काम महाधिवेशन केन्द्रित हुने उल्लेख गरेका छन्।

भदौ ५, २०८० मंगलबार २२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।