पाकिस्तानको खतरनाक बलिङसामु निरीह अफगानिस्तान, ५९ रनमै अलआउट

पाकिस्तानको खतरनाक बलिङसामु निरीह अफगानिस्तान, ५९ रनमै अलआउट

काठमाडौं : पाकिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तान निरीह बनेको छ।

श्रीलंकाको महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा २०२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९.२ ओभरमा ५९ रन बनाएर अलआउट भएको हो।

पाकिस्तानको खतरनाक बलिङमा अफगानिस्तानका कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन्।

अफगानिस्तानका रहमनुल्लाह गुरबाजले १८ रन र अजमतुल्लाह ओमरजाइले १६ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पाकिस्तानका हरिफ रौफले पाँच तथा शाहीन शाह अफ्रिदीले दुई तथा नसीम शाह र सादब खानले समान एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ४७.१ ओभरमा अलआउट हुँदै २०१ रन बनाएको थियो।

उसका लागि इमाम उल हकले ६१, सादब खानले ३९, इफ्तिखर अहमदले ३०, मोहम्मद रिजवानले २१ र नसीम शाहले नटआउट १८ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पाकिस्तानका कप्तान बाबर आजम डकआउट हुँदा फकर जमान  उसामा मिर र शाहीन शाह अफ्रिदीले समान दुई–दुई रन जोडे। हरिश रौफले एक रन बनाउँदा अघा सलमानले ७ रन बनाए।

अफगानिस्तानका मुजीब उर रहमानले तीन, मोहम्मद नाबी र रशिद खानले समान दुई–दुई तथा फजल्लाहक फारुकी र रहमत शाहले समान एक–एक विकेट लिए।

दुई टिमबीचको दोस्रो एकदिवसीय खेल बिहीबार र तेस्रो तथा अन्तिम एक दिवसीय खेल शनिबार हुनेछ।

भदौ ५, २०८० मंगलबार २१:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।