सारुक ताम्राकारको अन्तिम काम म्युजिक भिडियोमार्फत देखाइने
काठमाडौं : दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर म्युजिक भिडियो बन्ने भएको छ।
फिल्मका निर्माता तथा निर्देशक राजीव गुरुङले अभिनेता ताम्राकारले अभिनय गरेको दृश्यलाई समेटेर श्रद्धाञ्जलि दिन तयार पारिएको सामग्री बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिने जानकारी दिए।
उनले भने, ‘अभिनेता ताम्राकारले यस चलचित्रको लेखनदेखि नै गर्नुभएको मेहनतलाई सानै रूपमा भए पनि उहाँका प्रशंसकमाझ ल्याउँदैछौँ। यसमा उहाँको लुक्ससँगै पर्दा पछाडिका कामलाई पनि देखाएका छौँ।’
निर्देशक गुरुङले चलचित्रकै लागि तय गरिएको गीतमा अभिनेता ताम्राकारको दृश्यलाई जोडिएको बताए।
ताम्राकारले बर्दियाको छायांकन सकेर काठमाडौंमा सुरू गरेका थिए। प्रोडक्सन म्यानेजर अरुण रेग्मीले सारुकलाई श्रद्धाञ्जलि (ट्रिब्युट टु सारुक) कार्यक्रममा चलचित्रको निर्माण समूहसँगै अभिनेता ताम्राकारका नजिकको साथीहरूको उपस्थितिमा हुने बताए।
बर्दियाको छायांकन तालिका सकिएसँगै काठमाडौंमा छायांकनकै क्रममा अभिनेता ताम्राकारले गत असार २१ गते आत्महत्या गरेका थिए। चलचित्र ‘रानी’बाट नेपाली फिल्ममा डेब्यु गरेका उनी निर्देशक बन्न चाहन्थे।
भदौ ५, २०८० मंगलबार १९:४६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।