एसिया कपका लागि नेपाली टिमको बिदाइ, स्वास्थ्य समस्याका कारण सन्दीप नजाने क्यानको भनाइ
काठमाडौं : पाकिस्तान र श्रीलंकामा अगस्ट ३० देखि सुरु हुने एसिया कपमा लागि नेपाली टिमलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार एक कार्यक्रममाझ नेपाली टिमको बिदाइ गरेको हो। तर, पहिलो खेलका लागि पाकिस्तान जाने नेपाली टिमसँग स्पिनर सन्दीप लामिछाने भने नजाने भएका छन्।
क्यानले मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै व्यवस्थापक प्रदीप मजगयाले सन्दीप टिमसँग नजाने जनाएको हो।
‘सन्दीपको स्वास्थ्यमा समस्याका कारण उनी टिमसँग नहुने भएका हुन्। हामी उनलाई एसिया कप खेलाउनका लागि प्रयासरत छौँ। हाल खेल्ने, नखेल्नेबारे केही निर्णय भएको छैन’, उनले भने।
यद्यपि नाबालिग बलात्कार मुद्दाको पेशी रहेका कारण उनी टोलीसँगै पाकिस्तान जाने अवस्था नबनेको हो। यसअघिको तोकिएको अन्तिम सुनुवाइको पेशीमा अदालतले पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गरेर पेश गर्न भनेपछि तत्कालका लागि उनी पाकिस्तान जान नपाएका हुन्।
एसिया कपका लागि नेपाली टिम मंगलबार राति १ बजे पाकिस्तान जाँदैछ। पाकिस्तानमा घरेलु टिमसँग ओपनिङ खेल ३० अगस्टमा मुल्तानमा खेलेपछि टोली श्रीलंका जाने तालिका छ।
श्रीलंकामा नेपालले भारतविरुद्ध सेप्टेम्बर ४ मा समूह चरणको दोस्रो खेल खेल्नेछ। दुईमध्ये एक खेल जित्ने टोली सुपर ४ मा प्रवेश गर्नेछ।
सुपर ४ मा प्रवेश गरेको टिमले अर्को समूहबाट आएको दुई टोली र आफ्नो समूहको टोलीसँग पुन: खेल्नुपर्नेछ। सुपर ४ मा भएका सबै खेलपछि अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीबीच फाइनल खेल हुनेछ।
एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाए पनि राजनीतिक तिक्तताका कारण भारतले टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगिता ‘हाइब्रिड मोडेल’मा सञ्चालन हुने सहमति बनेको हो।
जसअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंकामा हुनेछ। पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ।
नेपालले विश्व च्याम्पियन बनिसकेका भारत र पाकिस्तानसँग पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेट खेल्न लागेको हो।
भदौ ५, २०८० मंगलबार १९:१०:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।