कुखुरा तस्करी रोक्न नेपाल-भारत सीमाको अवैध ह्याचरी र कोल्ड स्टोर हटाउन गृहको निर्देशन

कुखुरा तस्करी रोक्न नेपाल-भारत सीमाको अवैध ह्याचरी र कोल्ड स्टोर हटाउन गृहको निर्देशन

काठमाडौँ : भारतबाट तस्करी भएर आउने अस्वस्थकर कुखुराको मासु रोक्न गृह मन्त्रालयले पाँच बुँदे निर्देशन दिएको छ। खुला सीमाको उपयोग गर्दै भारतमा उत्पादित कुखुरा रातारात नेपाल भित्र्याएर नेपाली भन्दै बजारमा पुग्ने क्रम बढेपछि मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनलाई तस्करी नियन्त्रण गर्न पाँच बुँदे निर्देशन पठाएको हो।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भदौ ३ मा सरोकारवाला सरकारी र व्यवसायीबिच कुखुरा तस्करीबारे छलफल गरेका थिए। छलफलमा सरकारी निकायकै अधिकारीहरूले भारतबाट तस्करी भएर नेपाल आउने कुखुरा मरे पनि त्यसलाई प्याक गरेर विक्री हुने गरेको, सीमामा अवैध उत्पादन भएका कुखुरा रातारात नेपालतिर ल्याएर नेपाली उत्पादन दाबी गर्ने गरेको लगायतबारे जानकारी गराएका थिए।

छलफलमा कुखुरा कसरी तस्करी हुन्छ, मरेको अस्वस्थ कुखुराको मासु कसरी बजार पुग्छ, सीमाका कसरी ह्याचरी र कोल्ड स्टोर खोलेर भारतको कुखुराको मासु नेपाली भन्दै बिक्री हुने गरेको छ भन्ने प्रमाण समेत प्रस्तुत गरिएको थियो।

साइकल अनि मोटरसाइकलमा कुखुरा झुण्ड्याएर नेपालतिर तस्करी गर्दा मर्ने गरेको तर तस्करीमा संलग्न समूहले त्यही मरेको कुखुराको मासु बजासम्म पुर्याउने गरेको छलफलमा बताइएको थियो।

भारतबाट तस्करी भएर आउने कुखुराको मासुका कारण नेपालको ह्याचरी उद्योग प्रभावित भएको, अस्वस्थकर मासु उपभोक्तासम्म पुग्दा आम नागरिकको स्वास्थ्यमा खेलबाड भएको भन्दै व्यवसायीहरूले तस्करी नियन्त्रणमा गम्भीर बनिदिन गृहलाई पटक-पटक आग्रह गर्दै आएका छन्।

छलफलमा गृहमन्त्री श्रेष्ठले तत्काल सुरक्षा निकायसँग समन्वय गरेर अस्वस्थकर कुखुराको मासु तस्करी नियन्त्रण गर्न निर्देशन दिएका थिए। सोही निर्देशन कार्यान्वयन गर्न मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई लिखित निर्देशन पठाएको हो।

निर्देशनमा खुला सीमा नाकाबाट गैरकानूनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई कारबाही गर्न, सीमा नाकामा गस्ती निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, वधशाला ह्याचरी र कोल्ड स्टोर हटाउन र भन्सार तथा क्वारेनटाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न भनिएको छ।

भदौ ५, २०८० मंगलबार १७:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।