वर्षासँगै स्क्रबटाइफसको जोखिम बढ्दै, खेतबारीमा काम गर्नेहरू सजग रहन चिकित्सकको सुझाव
काठमाडौं : वर्षासँगै स्क्रबटाइफस संक्रमणको जोखिम बढेको छ। विशेषगरी वर्षातको समयमा यसको संक्रमण बढी देखिन्छ।
केही समययता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्क्रबटाइफस संक्रमित भएर उपचारका लागि पुग्ने बिरामीको संख्या बढेको अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए।
‘स्क्रबटाइफस संक्रमित बिरामीको भर्ना हेर्ने हो भने असार र साउनमा नै बढी देखिन्छ’, उनले भने।
इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कअनुसार नेपालमा सन् २०२३ को १५ जुनसम्म परीक्षण गरिएकामध्ये ६ सय ४१ जनामा स्क्रबटाइफस संक्रमण पुष्टि भइसकेको छ।
सन् २०२२ मा परीक्षण गरिएकामध्ये तीन हजार चार सय ५७ जनामा स्क्रबटाइफस पुष्टि भएको थियो भने सन् २०२१ मा दुई हजार १८ जनामा संक्रमण पुष्टि भएको थियो।
यो उपचार गर्न अस्पताल पुगेकामध्ये परीक्षणपछि स्क्रबटाइफस पुष्टि भएको संख्या मात्रै हो। कयौं बिरामीमा त यो रोगको संक्रमणको परीक्षणको दायरामा नै नपुग्ने चिकित्सक बताउँछन्।
विशेषगरी खेतबारीमा काम गर्ने व्यक्तिमा यो रोगको बढी जोखिम हुने चिकित्सक बताउँछन्।
२०७२ सालमा गएको भूकम्पपछि यो रोगको संक्रमण बढी देखिएको महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।
‘भूकम्पको समयमा केही समय मान्छेहरू घर बाहिर बसे, त्यसबेलादेखि यसको रिपोर्टिङ सुरू भयो,’ उनले भने, ‘विगत ५/७ वर्षदेखि नेपालमा स्क्रबटाइफस बढ्दो ट्रेन्डमा छ।’
उपचार नपाए मृत्युको जोखिम
समयमा नै उपचार नपाएको खण्डमा स्क्रबटाइफस संक्रमितको मृत्यु हुनेसक्नेतर्फ डा. पुन सजग गराउँछन्। उपचार नपाएको खण्डमा संक्रमितमध्ये करिब १५ प्रतिशतको मृत्यु हुनसक्ने जोखिम रहेको उनको भनाइ छ।
‘उपचार नपाउँदा १२/१५ प्रतिशत संक्रमितको मृत्युको जोखिम हुन्छ,’ डा. पुनले भने, ‘बेलैमा उपचार पायो भने त ठिक भइहाल्छ।’
स्क्रबटाइफस संक्रमण भएको अवस्थामा उच्च ज्वरो आउने, अति टाउको दुख्ने, शरीरमा राता बिमिरा देखिने, शरीर दुख्ने, पेट दुख्ने, आँखा हल्का रातो, कानमा कृतिम आवाज सुनिने, श्वासप्रश्सासमा असहज महसुस हुने, पसिना आउने जस्ता लक्षण देखिने उनी बताउँछन्।
स्क्रबटाइफस हुँदा किर्नाले टोकेको भागमा कालो पाप्रोजस्तो दाग देखिन्छ। संक्रमितलाई निमोनियाको जोखिम उच्च हुन्छ भने संक्रमणको जटिलता निम्तदै जाँदा स्नायु प्रणालीमा समेत असर गर्नसक्छ।
समयमा नै उपचार नभएको खण्डमा मुटु, कलेजो, फोक्सो, मिर्गौला जस्ता शरीरका अंगले काम नगरेर मृत्युको समेत जोखिम हुने चिकित्सक बताउँछन्।
स्क्रबटाइफस भएको खण्डमा एन्टिबायोटिक्स औषधि प्रयोग गरिने डा. पुनले बताए। एन्टिबायोटिकको प्रयोग गरेकामध्ये अधिकांशका ४८ घण्टाभित्र ज्वरो हराउने उनले बताए।
‘स्क्रबटाइफसविरुद्ध चलाउने एन्टिबायोटिक खायो भने २४ देखि ४८ घण्टामा धेरैजसोको ज्वरो घटेको देखिन्छ’, उनले भने।
त्यसैले वर्षाको मौसममा कसैमा उच्च ज्वरोजस्ता लक्षण देखिएको खण्डमा स्वास्थ्यकर्मीले स्क्रबटाइफस पनि हो की भन्ने शंका गनुपर्ने चिकित्सक बताउँछन्। स्क्रबटाइफसका लक्षण देखिएको खण्डमा प्रयोगशाला परीक्षण गर्न डा. पुनको सुझाव छ।
प्रयोगशाला परीक्षण सम्भव नभएको तर स्क्रबटाइफस भएको लक्षण देखिएको खण्डमा भने स्क्रबटाइफसविरुद्धको औषधि प्रयोग गर्न सकिने उनी बताउँछन्। औषधि प्रयोग गर्दा अधिकांशमा त्यस्ता लक्षण काम हुने उनको भनाइ छ।
यसरी हुन्छ स्क्रबटाइफस
स्क्रबटाइफसको संक्रमण बाह्रै महिना देखिनसक्छ। विशेषगरी यो संक्रमण वर्षातको मौसममा नै बढी देखिने चिकित्सक बताउँछन्।
‘माइट’नामको मुसाको किर्नाको टोक्दा ‘अरेन्टिया सुत्सगमुसी’ संक्रमणका कारण स्क्रबटाइफस रोग लाग्छ। नेपालको एक अध्ययनअनुसार धेरैजसो मुसाको कानमा यो किर्ना देखिएको थियो।
मुसाको किर्नाबाट यो संक्रमण मान्छेमा सर्छ। मुसामा भएको किर्ना वर्षाको मौसममा पानीमा बगेर झाडीका पातहरूमा बस्छन्। वर्षातको समयमा घाँसपात तथा झाडी अग्लो हुन्छ। त्यही घाँसपात तथा झाडीमा टाँसिएर रहेको किर्ना मान्छेको शरीरमा टाँसिन पुग्छ। शरीरमा पुगेपछि टोक्ने र संक्रमण हुने चिकित्सक बताउँछन्।
‘धान खेतमा मुसाहरू हिँड्दै जाँदा झाडीको पातमा यो किर्ना टाँसिन्छ,’ डा. दाहालले भने, ‘खाली खुट्टा हिँड्दा वा शरीर ढाक्ने किसिमले कपडा नलगाउँदा हाम्रो शरीरमा किर्ना टाँसिएर रोग लाग्नसक्छ।’
त्यसैले मुसा हुने ठाउँमा स्क्रबटाइफसको पनि जोखिम बढी नै हुने चिकित्सक बताउँछन्। सहरी क्षेत्रको तुलनामा गाउँघरमा खेतिपातीमा काम हुने भएकाले गाउँघरकै व्यक्तिमा बढी यो संक्रमण भएको पाइने चिकित्सक बताउँछन्।
यस्ता छन् बच्ने उपाय
स्क्रबटाइफसको संक्रमणबाट बच्नका लागि घरवरिपरिको वातावरण सफा राख्नुका साथै झाडीमा जाँदा तथा खेतबारीमा काम गर्दा शरीर ढाक्नेगरी पूरा बाउला भएका कपडा, खुट्टामा बुट, हातमा पञ्जा लगाउन चिकित्सकको सुझाव छ। झाडी तथा घाँसपात भएको ठाउँमा जथाभावी नबस्न डा. पुनको सुझाउँछन्।
भदौ ५, २०८० मंगलबार १७:३५:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।