ओलीलाई ‘ज्वरो’ आउँदा शीर्ष नेताको बैठक बस्न सकेन, संसद् बैठक पनि स्थगित

ओलीलाई ‘ज्वरो’ आउँदा शीर्ष नेताको बैठक बस्न सकेन, संसद् बैठक पनि स्थगित

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य प्रतिकुलताका कारण अनुपस्थित भएपछि सिंहदरबारमा बस्ने भनिएको सर्वदलीय बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ।

तस्करीको सुन छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन आयोगबारे मस्यौदा समितिले तयार पारेको ड्राफ्टलाई अन्तिम रुप दिन सिंहदरबारमा प्रमुख दलका नेता सम्मिलित सर्वदलिय बैठक डाकिएको थियो।  

तर बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्यका कारण अनुपस्थित भएकाले एजेण्डामै प्रवेश नगरी बैठक स्थगित हुन पुग्यो । 

एमालेका प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीको अस्वस्थताका बाबजुद पनि आफू आउने बताएपनि प्रधानमन्त्री र सभामुख प्रधानन्यायाधीशको शपथमा सहभागी हुन जानुपर्ने भएकाले बैठक बस्न नसकेको बताए। 

‘अध्यक्ष  ओलीलाई पनि ज्वरो आएकाले आउन नसकेकाले बैठक एजेण्डामा प्रवेश गरेन’, गिरीले भने, ‘सम्भवतः अर्को बैठक भोलि ११ बजे बस्नेछ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बैठक बस्दै नबसी स्थगित भएको बताए। ‘बैठक नै बसेन’, लामिछानेले भने,‘शीर्ष नेताको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनु हो त्यसैले सम्भवतः हामी अर्को बैठकमा सहभागी हुँदैनौं।’

संसद बैठक भोलि ३ बजे बस्ने
प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक भोलि भदौ ६  गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ। 

भदौ ५, २०८० मंगलबार १५:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।