अभिनेत्री पारमिताले सार्वजनिक गरिन् मलयालम प्रेमी

अभिनेत्री पारमिताले सार्वजनिक गरिन् मलयालम प्रेमी

काठमाडौं : ‘द कर्म’, ‘द म्यान फ्रम काठमान्डु’, ‘चङ्गा चेट’, ‘रोज’ र ‘चपली हाइट २’ जस्ता फिल्ममा अभिनय गरे पनि अभिनेत्री पारमिता राणा अभिनयमा जम्न सकिनन्। अधिकांश फिल्म असफल भए।

उनी अभिनय भन्दा विवादले बढी चर्चामा आइन्। बुढानीलकण्ठमा भएको सवारी दुर्घटनामा घटनास्थलबाट भागेकी उनको लामै समय आलोचना भयो। बेलाबखत प्रेम सम्बन्धले पनि चर्चामा आउँछिन् उनी।

पहिला अभिनेता आयुष्मान देशराजसँगको सम्बन्धले उनी चर्चामा आएकी थिइन्। आयुष्मानकी आमा रविनाको विवाहमा आयुष्मानको भाइ आशिरमानसँगको तस्बिरले दुवैबीच प्रेम सम्बन्ध भएको हो कि भन्ने चर्चा पनि भयो। उनले आशिरमान आफ्नो भाइ रहेको प्रष्टीकरण नै दिनुपर्यो।

भारतको मुम्बईमा रहेकी पारमिताले हालै मलयालम युवकसँगको प्रेमिल भिडियो सार्वजनिक गरेकी छन्। आधिकारिक इन्स्टाग्राम रिल्समार्फत सार्वजनिक गरिएको भिडियोमा उनी मलायलम प्रेमीसँग रोमान्टिक मुडमा देखिएकी छन्।

उनले भिडियोमा ‘हाइ सोलमेट’ लेख्दै आफूहरू कपलको रूपमा रहेको उल्लेख गरेकी छिन्।  उनले लेखेकी छन्, ‘हाइ सोलमेट, ह्याप्पीनेस, लभ, सोलमेट, मलयालम, सेलिब्रेसन, रिल्स, कपल, ट्रेन्डिङ, विद यु।’

उनले सार्वजनिक गरेको भिडियोमा रेस्टुरेन्टमा खानाको मज्जा लिएको, घुमघाम गरेको देख्न सकिन्छ। यही भिडियोमा पारमिताको हातमा मेहेन्दी लगाएकी छन्।

यसअघि हिसी लोसाङ्गसँग प्रेममा थिइन् उनी। उनको जन्मदिनको अवसरमा प्रेमी हिसीले औँठी लगाइदिएका थिए। उनले सामाजिक सञ्जाल इन्स्टामार्फत हिसीसँग ब्रेकअप भएको सार्वजनिक गरेकी थिइन्।

उनले लेखेकी थिइन्,‘यो सबैका लागि हिसी तिमीलाई धन्यवाद छ। तिमीले मलाई पीडा सिकाएका छौ। म अहिले पहिलेको भन्दा झनै शक्तिशाली भएकी छु। म प्रेममा अन्धो भएकी रहेछु। तर, मैले अहिले बल्ल बुझेँ कि म यो भन्दा पनि निकै राम्रो कुरा प्राप्त गर्न योग्य छु। यो सबै पीडाका लागि तिमीलाई धन्यवाद।’

भदौ ५, २०८० मंगलबार १५:४२:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।