कमेडी कार्यक्रम हेरेर हाँस्नुपर्ने दर्शक उल्टो रिसाए
काठमाडौं : रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन २.०’ का कलाकार दर्शक हँसाउन ठस्ठस् कन्दैछन्। तर, दोस्रो एपिसोडमा पनि सफल भएनन्।
विशाल भण्डारीको थ्री प्रोडक्सन प्रालि र कि इन्टरटेन्टमेन्टले पहिला ‘कमेडी क्लब विथ च्याम्पियन’ सुरू गरेको थियो।
भण्डारी समूहले कार्यक्रम केही समयका लागि स्थगित गरेपछि नामको पछाडि २.० थपेर कि इन्टरटेनमेन्ट एक्लैले कार्यक्रम निर्माण गरेर प्रसारण सुरु गर्यो।
कलाकारको टिम नै बदलेर प्रसारण सुरु भएको कार्यक्रमको पहिलो भाग सुपर फ्लप भएको थियो। दोस्रो भागको हालत पनि उस्तै देखियो। कमेडी कार्यक्रममा दर्शक हाँस्न पञ्च लाइन कुरेर बसे तर पाएनन्।
पहिलो भागमा अभिनेता राजेश हमाल अतिथि भएर आएका थिए। पहिलो भागमा हाँस्य कलाकारले हैन, हमालले उल्टो रोस्ट हाने।
दोस्रो भागमा अतिथिका रूपमा गायक तथा अभिनेता प्रकाश सपुत आए। युट्युबमा सार्वजनिक भएको १७ घण्टामा पनि ५३ हजार मात्र भ्युज छ।
ओएसआरको आधिकारिक युट्युब च्यानलमा अपलोड भएको भिडियोमा दर्शकहरूले ‘कहाँ हाँस्ने हो?’ भनेर प्रश्न सोधेका छन्।
युट्युब प्रयोगकर्ता धर्मराज घिमिरेले कतिखेर हाँस्नुपर्ने हो थाहै पाइएन भन्दै अर्को भागमा हँसाउन आग्रह गरे।
उनले लेखेका छन्, ‘कति खेर हॉंस्नुपर्ने थियो थाहै नपाइ पो सकिएछ। आगामी एपिसोडहरूमा हाँस्न पाइयोस्, शुभकामना।’
त्यस्तै अर्का दर्शक नरेश राईले पनि पहिलो सिजनभन्दा दोस्रो सिजन राम्रो नभएको तर्क गरे।
‘पुरानो जस्तो मज्जा आएन अलिक मेहनत गर्नुपर्ने देखिन्छ, एनिवे अल द वेस्ट’, उनले लेखेका छन्।
यो समाचार तयार पार्दासम्म भिडियोमा ८ सय ६१ वटा प्रतिक्रिया आएको छ। अधिकांशले कार्यक्रम सुधार्न सुझाव दिएका छन्। उनीहरूले पुरानै कलाकार खोजिरहेका छन्।
विजय पुमा राईले सुमन कार्की, कैलाश कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठलाई ल्याउन आग्रह गरेका छन्।
अर्का कमेन्टकर्ता नगेन्द्र निरौलाले हेर्दा मज्जा नआएको र कार्यक्रम हेर्दा हाँस्नुपर्नेमा रिस पो उठ्छ भनेर लेखेका छन्।
विशाल भण्डारीको टिममा अध्यक्ष दीपाश्री निरौला रहेकी थिइन् भने अहिले राजाराम पौडेल छन्। हाँस्य कलाकारितामा जमेका पौडेल दुवै भागमा फिक्का देखिए।
भण्डारीको ठाउँमा कार्यक्रम सञ्चालकको रूपमा यमन श्रेष्ठ छन्। रोशन सुवेदी, अजय रेग्मी, डोरेश खतिवडा, सुचित्रा उप्रेती, अर्पन तामाङ लगायतको प्रस्तुतिलाई दर्शकले मन पराएनन्।
कार्यक्रममा होस्ट बनेका यमनले हँसाउन नसकेको स्वीकार गर्दै आफूलाई निर्माण टिमले ‘हँ’ र ‘अँ’ भन्न मात्रै बोलाएकाले त्यही गरेको बताए।
भदौ ५, २०८० मंगलबार १५:२८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।