महिला टी–२० आई सिरिज : सिताले कसिलो बलिङ गर्दा हङकङले नेपाललाई दियो ८५ रनको  लक्ष्य

महिला टी–२० आई सिरिज :  सिताले कसिलो बलिङ गर्दा हङकङले नेपाललाई दियो ८५ रनको  लक्ष्य

काठमाडौं : हङकङविरुद्धको खेलमा नेपालले जितका लागि ८५ रनको लक्ष्य पाएको छ। 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपालविरुद्ध ब्याटिङ गर्दा निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको हो।  

चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्रीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी थिइन्।

हङकङले १९ दशमलव एक ओभरमा सवै विकेटको क्षतिमा ८४ रन बनाएको हो।

हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झिन लायक रन बनाउन सकेनन्। 

नेपालका बलरहरुले कसिलो बलिङ गरे। नेपालका लागि सीता रानामगर एक्लैले पाँच विकेट झारिन्। उनले चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेकी थिइन् ।

यस्तै इन्दु बर्माले दुई तथा कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एक–एक विकेट लिए। 

नेपालले अहिले जबाफी ब्याटिङ गरिरहेको छ। नेपालले ६ ओभरमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ। पूजा महतो १३ तथा सम्झना कुमारी खड्का ११ रन बनाएर मैदानमा छन्। 

भदौ ५, २०८० मंगलबार १४:०८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।