सीआईबीले बुझायो रायसहित ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन, यस्तो छ प्रतिवेदनको सार

सीआईबीले बुझायो  रायसहित ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन,  यस्तो छ प्रतिवेदनको सार

काठमाडौं : ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई पठाएको छ।

अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई पठाएको सीआईबीका प्रवक्ता दिनेश आचार्यले बताए।

सीआईबी स्रोतका अनुसार यो प्रकरणमा सीआईबीले २ सय भन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाउन राय दिएको छ।

त्यसमध्ये ५० को संख्यामा जग्गा फिर्ता प्रयोजनका लागि मात्र प्रतिवादी बनाउनुपर्ने सीआईबीको प्रस्तावित राय छ।

यस्तो छ सीआईबीले गरेको अनुसन्धानको सार 

सीआईबीले दोस्रो चरणको संगठित किर्तेको अनुसन्धान तीन भागमा विभाजन गरेर अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

जसमध्ये ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने भूमिकामा रामकृष्ण सुदेवी, शोभाकान्त ढकाल र गुरुङलाई राखेर अनुसन्धान प्रतिवेदन तयार पारेको छ।

त्यस्तै, दोस्रो भूमिकामा विचौलियाहरुलाई फाइदा पुग्ने गरेर किर्ते गरेर जग्गा नामसारी प्रकरणमा जोडिएका मालपोत कार्यालयका कर्मचारी र टिकिन्छा गुठीका कर्मचारी तथा विभागीय मन्त्रीहरुलाईसमेत दोस्रो भूमिकामा राखेर अनुसन्धान प्रतिवदेन तयार पारिएको सीआईबी स्रोतले बतायो।

सीआईबीले टिकिन्छा गुठीमार्फत् ललिता निवासको चार रोपनी जग्गा रामकृष्ण सुवेदी र शोभाकान्तकै परिवारको नाममा रहकोसमेत उल्लेख गरेको स्रोत बताउँछ। उनीहरुले श्रीमतीको नाममा दुई÷दुई रोपनी जग्गा राखेको खुलाएको छ।

तेस्रो भूमिकामा भने बिचौलीयामार्फत् सरकारी जग्गा खरिद गर्ने समूहलाई राखिएको सीआईबीले जनाएको छ। सीआईबी स्रोतका अनुसार पक्राउ पुर्जी जारी गरिएका ४ सय ८ जनामध्ये करिब २ सय जनालाई फरार प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार गरिएको छ।

जसमध्ये चारजना पूर्वमन्त्रीहरुलाईसमेत फरार प्रतिवदी बनाइएको सीआईबी स्रोतले बतायो। पूर्वमन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र संजय साहलाई फरार प्रतिवादी बनाइएको छ।

उनीहरुबाहेक अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, भूमि सुधार मन्त्रालयका पूर्वसचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारीलाईसमेत फरार प्रतिवादी बनाइएको छ।

उसो त अख्तियारले २२ माघ २०७६ मा उनीहरुमाथि विशेष अदालतमा मुद्दा दायर नै गरेको थियो।

भदौ ५, २०८० मंगलबार १२:१९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।