के-के हुँदैछ आज : राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकदेखि संसद् बैठकसम्म

के-के हुँदैछ आज : राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकदेखि संसद् बैठकसम्म

काठमाडौं : संसद्को अवरोध खुलाउने विषयमा जानकारी लिन राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) सर्वदलीय बैठक बोलाएका छन्।

राष्ट्रपति पौडेलले दुवै सदनमा जारी अतिरोध अन्त्यका विषयमा छलफलका लागि बिहान साढे ८ बजे शीतल निवासमा सबै दललाई छलफलका लागि बोलाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 

प्रमुख प्रतिपक्षी दल एमालेले गत साउन १० गतेदेखि लगातार रुपमा दुवै सदन अवरुद्ध गर्दै आएको छ। सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनु पर्ने माग एमालेको छ।

मंगलबार राति राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठकमा उच्चस्तरीय समितिमार्फत् सुन तस्करीबारे छानबिन गर्ने सहमति भएको छ। त्यसैले अब एमाले संसद् अवरुद्ध नगर्ने देखिएको छ।

यता आज संसद् (प्रतिनिधिसभा) को बैठक बस्ने तालिका छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। 

एमालेको अवरोध नगरेमा आज संसद्को सम्भावित कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन्।

त्यसैगरी सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराइनेछ।

मंगलबार नै एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै छ। ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिने छ।

यो पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि हालसम्म महाधिवेशन हुनसकेको छैन।

पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिए।

भदौ ५, २०८० मंगलबार ०७:५०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।