नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाएर बाटो खोल्न अझै ५/६ घण्टा लाग्ने

नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाएर बाटो खोल्न अझै ५/६ घण्टा लाग्ने

भरतपुर : नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै ५/६ घण्टा लाग्ने भएको छ। सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो।

पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको र पहिरो पूरै पन्छाउन अझै पाँचदेखि ६ घण्टासम्म लाग्ने उनले बताए।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। उनका अनुसार चार मेसिन पहिरो पन्छाउन प्रयोग भए पनि साँघुरो भएका कारण आलोपालो चलेका छन्। 

पहिरोका कारण गन्तव्यमा हिंडेका सवारीसाधन र यात्रु रातभर बाटोमै रोकिएका छन्। ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौंबाट गएका सवारीसाधनलाई मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएको छ भने पश्चिम र पूर्वबाट आएका सवारीसाधनलाई भरतपुरका विभिन्न क्षेत्र र नवलपुरको गैंडाकोटमा रोकिएको छ।

भदौ ५, २०८० मंगलबार ०७:१९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।