ललिता निवास प्रकरणमा माधव र बाबुरामको बयान भयो, प्रतिवादी हुने सम्भावना न्यून

ललिता निवास प्रकरणमा माधव र बाबुरामको बयान भयो, प्रतिवादी हुने सम्भावना न्यून

काठमाडौं : दुई पूर्व प्रधानमन्त्रीको बयान नलिई ललिता निवास जग्गा किर्तेको अनुसन्धान टुंग्याउँदा कृष्णबहादुर महरा झैँ विवाद चर्किने भएपछि अन्तिम समयमा प्रहरीले बयान लिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्व प्रधानमन्त्री माधव नेपाल र डा बाबुराम भट्टराइको घरमै गएर बयान लिएको हो। सीआईबीको टोलीले बाबुरामको बयान आइतबार बेलुका लिएको थियो भने नेपालको बयान सोमबार बिहान।

बयान लिन सीआईबीको टोली दुवै पूर्व प्रधानमन्त्रीको घरमा गएको थियो। सीआईबीले दुवै पूर्व प्रधानमन्त्रीसँग बयान लिन लिखित प्रश्नावली बनाएको थियो।

‘नेपालसँग कुन आधारमा नक्कली मोहीको नाममा सरकारी जग्गा सट्टाभर्ना दिने निर्णय भएको हो? निर्णयको बेलामा ललिता निवास सरकारी जग्गा हो भन्ने जानकारी थियो या थिएन?’ निर्णय प्रक्रिया र संलग्नताबारे सोधेको स्रोतले बतायो।

स्रोतका अनुसार नेपालले नियमित प्रक्रियाअनुसार आएको प्रस्ताव अनुसार निर्णय भएको, निर्णय गर्दा ललिता निवसाको जग्गा सरकारी भएको जानकारी नभएको, मन्त्रिपरिषद्मा आउने प्रस्तावको नियमित प्रक्रिया अनुसारै प्रस्ताव आएकाले निर्णय भएको भन्दै आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

अर्का पूर्व प्रधानमन्त्री बाबुरामसँग नक्कली गुठी टिकिन्छा केन्द्रित लिखित प्रश्नावली अनुसार बयान भएको थियो।

उनले पनि निर्णयको बेलामा प्रधानमन्त्रीको हैसियतमा मन्त्रिपरिषद्मा आइपुग्ने नियमित प्रस्ताव अनुसार आएको प्रस्तावबारे निर्णय भएको भन्दै आफ्नो संलग्नता अस्वीकार गरे।

यसअघि दुवै पूर्व प्रधानमन्त्रीको बयान नलिई प्रहरीले प्रस्तावित राय सुझाव बुझाउने तयारी गरेको थियो। गलत नजिर बस्ने तर्क सार्वजनिक भएपछि सरकार दबाबमा पर्यो।

पूर्व प्रधानमन्त्री बाबुरामले सार्वजनिक रूपमा आफू बयानका लागि तयार रहेको सार्वजनिक गरेपछि प्रहरी समेत दबाबमा पर्यो। प्रधानमन्त्रीबाट बयान लिन स्वीकृति आएपछि अन्तिम समयमा बयान भएको हो।

स्रोतका अनुसार बयान भए पनि दुवै पूर्व प्रधानमन्त्री प्रतिवादी बन्ने सम्भावना भने न्यून छ। किर्ते कागजको आधारमा मन्त्रिपरिषद्लाई झुक्याएको तर्क गर्दै दुवैले उन्मुक्ति पाउनसक्ने देखिन्छ।

प्रहरीले सोही अनुसारको प्रस्तावित राय सरकारी वकिलको कार्यालयमा बुझाएको स्रोतको दाबी छ।

भदौ ४, २०८० सोमबार १४:१०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।