तीन तहका सरकार प्रतिस्पर्धी होइनन्, सहयात्री हुन् : प्रधानमन्त्री प्रचण्ड

तीन तहका सरकार प्रतिस्पर्धी होइनन्, सहयात्री हुन् : प्रधानमन्त्री प्रचण्ड

सुर्खेत : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन तहका सरकारहरू एकअर्काका प्रतिस्पर्धी नभएर सिंगो राष्ट्र निर्माणका सहयात्री भएको बताएका छन्।

सोमबार प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा मन्तव्य दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले संघीय शासन प्रणालीको मूल मर्म नै लोकतान्त्रिक लाभको समानुपातिक, समावेशी र न्यायोचित वितरणलाई आम जनतासम्म विस्तार गर्नु भएको बताए।

‘यसका लागि पनि तीनै तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयको सम्वन्ध आवश्यक रहन्छ। तीन तहका सरकारहरु एकअर्काका प्रतिस्पर्धी नभएर सिंगो राष्ट्र निर्माणका सहयात्रीहरू हुन्, जसले नागरिकको बृहत्तर हितका लागि एकआपसमा बाँधिएर परिपूरकको भूमिका पूरा गर्दछ, हाम्रो संविधानको मूलमर्म एवं व्यवस्था पनि यही नै हो,’ उनले भने।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले कर्णालीका बारेमा आफू जानकार भएकोले प्राथमिकतामा कर्णाली रहेको बताए।

‘कर्णालीको गरिबी र भूगोलका बारेमा म जानकार छु। कर्णालीमा बसेर जनयुद्धको नेतृत्व गरेको याद ताजै छ। कर्णाली एउटा सभ्यता हो’, उनले भने, ‘कर्णाली मेरो प्राथमिकतामा सदैव रहनेछ।’

बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारको पूर्ण साथ र सहयोग रहने उनले बताए।

कर्णाली करिडोर,‌ कर्णाली राजमार्ग लगायतका ठूला‌ सडक केन्द्र सरकार प्राथमिकतामा परेको र चीन सरकारको भ्रमणका क्रममा थप‌ प्राथमिक पाउने गरी म आफू लागेको बताए।

भदौ ४, २०८० सोमबार १३:०७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।