भोजपुरका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’

भोजपुरका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’

भोजपुर : भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ।

सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुवात गरिएको हो। यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिए।

दोस्रो चरणमा यी विद्यालयको पनि इन्टरनेटको थप क्षमता विस्तारलगायतको काम गर्ने लक्ष्य रहेको गुरागाईंले बताए।
नेपाल दूरसञ्चार प्राधिकरण र साल्पासिलिछो गाउँपालिका बीच भएको सम्झौताअनुसार यहाँका विद्यालयमा इन्टरनेट सेवा विस्तार थालिएको हो। 

प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमविपिएस नन डेडीकेडेट सेवा विस्तार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए।

सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्ष ७३ हजार नौ सय का दरले २८ लाख आठ हजार नौ सय बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ। 

त्यस्तै दोश्रो वर्षमाप्रति विद्यालय १८ हजार नौ सयका दरले सात लाख आठ हजार दुई सय बरावरको इन्टरनेट सेवा प्रदान गर्ने गाउँपालिकाको भनाइ छ।

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम र प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए।

भदौ ४, २०८० सोमबार १०:३६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।