कोशीकी उपसभामुख काठमाडौं उडिन्, एमाले र राप्रपाका आठ ज्येष्ठ सदस्यको एकै दिन ‘घरायसी जरुरी काम’

कोशीकी उपसभामुख काठमाडौं उडिन्, एमाले र राप्रपाका आठ ज्येष्ठ सदस्यको एकै दिन ‘घरायसी जरुरी काम’

काठमाडौं : मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा नेकपा एमाले र राप्रपाका ज्येष्ठ सांसद उपस्थित नहुने भएका छन्।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

सो बैठकमा एमालेका सात र राप्रपाका एक जना सांसदले उपस्थित हुन नसक्ने निवेदन दिएका हुन्।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार आठ जना सांसदले  घरायसी काम परेका कारण भोलिबाट केही दिन बैठकमा उपस्थित हुन नसक्ने निवेदन परेको हो।

एमालेका सांसदहरु रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६),खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५)र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयमा दिएका हुन्।

राप्रपाका सांसद गाेपालबहादुर विश्वकर्माले पनि उपस्थित हुन नसक्ने निवेदन दिएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार आठै जना सांसदले एउटै कारण ‘घरायसी जरुरी काम’ भएको उल्लेख गरेका छन्। एमाले र राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा छन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ गठबन्धनसँग ४७ मत नै छ।

मुख्यमन्त्री थापालाई विश्वासको मत पाउन उपसभामुख दनुवार वा प्रतिपक्षी दल एमाले र राप्रपा सांसदले बैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ। सत्ता गठबन्धनकै सांसदले बैठकको अध्यक्षता गरे विश्वासको मत पाउँदैनन्।

एमालेबाट निर्वाचित उपसभामुख दनुवार सोमबार बिहानै काठमाडौं उडिसकेकी छन्। एमाले अध्यक्ष मण्डलका सदस्यलाई संसद चलाउन लगाउने रणनीतिमा छ।

सत्तारुढ गठबन्धनले नै बैठक सञ्चालन गर्नुपर्ने अवस्था आए सोमबारको बैठक  बस्न नदिने सत्तापक्षको तयारी छ।

कोशी प्रदेशसभाको अध्यक्ष मण्डलमा एमालेबाट मालती सुब्बा, राप्रपाबाट अम्बरबहादुर विष्ट, कांग्रेसबाट इस्राइल मन्सरी र माओवादी केन्द्रबाट गीता तिम्सिना छन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ। मुख्यमन्त्री थापाको नेतृत्वमा रहेको सरकारलाई उनकै दल कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ।

विपक्षमा एमालेका ३९(उपसभामुख बाहेक) र राप्रपाको ६ जना सांसद् छन्

भदौ ४, २०८० सोमबार ०८:५५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।