प्रचण्डले बोलाएको शीर्ष नेताहरूको बैठकमा गएनन् ओली

प्रचण्डले बोलाएको शीर्ष नेताहरूको बैठकमा गएनन् ओली

काठमाडौं : संघीय संसद्मा देखा परेको गतिरोध लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक सुरू भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो। प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको बैठक बोलाएका हुन्।

मुलुकमा देखा परेको पछिल्ला समस्याका साथै समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। 

गत साउन १० गतेदेखि सङ्घीय संसद्का दुवै सदनको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अवरोध हुँदै आएको छ । सोही कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार र सुरक्षा घेरा छलेर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामङ्गलमा बरामद गरेको थियो । सोही विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदनमा अवरोध गर्दै आएको छ।

सरकार र सत्ता गठबन्धनमा आबद्ध रहेका दलले उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको भन्दै सरकारी संरचनाले नै छानबिन गर्ने बताउँदै आएका छन् । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थिति भएका छैनन्।

भदौ ३, २०८० आइतबार १३:४९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।