संसद्को अवरोध खुलाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रचण्ड

संसद्को अवरोध खुलाउन शीर्ष नेताहरूसँग छलफल गर्दै प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवरुद्ध संसद् खुलाउन शीर्ष नेताहरूसँग छलफल गर्दैछन्।

झण्डै एक महिनादेखि संसद अवरुद्ध भएपछि प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न आज राष्ट्रिय मान्यताप्राप्त पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्न लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। छलफल आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ।

गत निर्वाचनमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय मान्यताप्राप्त पार्टी बनेका छन्।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ।

अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आएका छन्। तर दलहरूबीच सहमति नजुटेकाले आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बस्ने नबस्ने अनिश्चित छ।

भदौ ३, २०८० आइतबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।