पहिरोले बेसीसहर–चामे सडक पुनः अवरुद्ध

पहिरोले बेसीसहर–चामे सडक पुनः अवरुद्ध

लमजुङ : पहिरोले बेसीसहर–चामे सडक पुनः अवरुद्ध भएको छ। आज बिहान लमजुङ र मनाङ जोड्ने  यस सडकखण्ड अन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिरोले सडक पुनः अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ। 

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीका अनुसार यस सडक अन्तर्गत बेसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको छ। उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ।

सो स्थानमा ठूला–ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएको छ। केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ।

सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन्। यसअघि गत आइतबारसमेत नासों गाउँपालिका–१ तालडाँडामा पहिराले सडक अवरुद्ध बनाएको थियो।

भदौ ३, २०८० आइतबार १०:४६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।