मेस्सीको साथ पाएको इन्टर मायमीले जित्यो इतिहासकै पहिलो उपाधि, सडन डेथमा रोमाञ्चक जित
एजेन्सी : लिओनेल मेस्सीको साथ पाएको इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको छ। मेस्सीको कप्तानीमा इन्टर मायमीले लिग्स कपको उपाधि जितेको हो।
आइतबार (आज) बिहान भएको फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले पहिलो उपाधि उचालेको हो। पूर्व इंग्लिस स्टार फुटबलर डेभिड बेक्यामको क्लब इन्टर मायमी सन् २०२० देखि मात्र व्यावसायिक फुटबल खेल्न थालेको हो।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। खेलको २३ औं मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले उत्कृष्ट गोल गर्दै मायमीलाई अग्रता दिलाएका थिए।
तर पिकाल्टले ५७ औं मिनेटमा नाशभिलका लागि बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा पुग्यो। टाइब्रेकरमा ४-४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट भएको थियो।
यसपछि लगातार बाँकी खेलाडीले गोल गरे। अन्त्यमा दुवै टिमका गोलकिप्पर पेनाल्टी प्रहार गर्न मैदानमा उत्रिए। जहाँ मायमीका किपर क्यालेन्डरले गोल गर्दा नाशभिलका किपरको पेनाल्टी उनले बचाएपछि मायमीले खेल जित्यो।
भदौ ३, २०८० आइतबार ०९:३८:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।