दुई थान पेस्तोल बोकेर भारतबाट नेपाल आउँदै गरेका​​​​​​​ दुई जना पक्राउ

दुई थान पेस्तोल बोकेर भारतबाट नेपाल आउँदै गरेका​​​​​​​ दुई जना पक्राउ

सर्लाही : सशस्त्र प्रहरीले शनिबार राती सर्लाहीबाट दुई थान हतियार (पेस्तोल) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। बोर्डर आउट पोस्ट (बीओपी) संग्रामपुरले शनिबार राति पर्सा गाउँपालिका-६ स्थित सीमा इलाकामा भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिलाई हतियारसहित नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकाहरूमा सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादव रहेका छन्। 

भारततर्फबाट आउँदै गरेको बीआर १९ जिए ४१४१ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा उनिहरूको साथबाट ७.६५ मिमि पेस्तोल एक थान , म्यागजिन १ थान र सोको गोली १५ राउण्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउण्ड गोली समेत बरामद भएको छ।

उनिहरूको साथबाट बरामद भएको नगद ११ हजार ६८०, भारतीय बैंकको एटीएम कार्ड तथा मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि राति नै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाइएको छ।

भदौ ३, २०८० आइतबार ०९:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।