यूएईले रच्यो इतिहास, पहिलो पटक टेस्ट नखेल्ने टिमसँग हार्‍यो न्युजिल्यान्ड

यूएईले रच्यो इतिहास, पहिलो पटक टेस्ट नखेल्ने टिमसँग हार्‍यो न्युजिल्यान्ड

एजेन्सी : टेस्ट टिम न्युजिल्यान्डलाई हराउँदै यूएईले इतिहास रचेको छ। दोस्रो टी-२० खेलमा न्युजिल्यान्डविरुद्ध ७ विकेटको ऐतिहासिक जित हात पार्दै यूएईले सिरिजलाई १-१ को बराबरीमा पुर्याएको हो। 

यूएईले न्युजिल्यान्डलाई हराएको यो कुनै पनि म्याचमा पहिलो पटक हो। कुनैपनि फर्म्याटमा टेस्ट नखेल्ने राष्ट्रसँग खेलेका हालसम्मका ३९ खेलमा न्युजिल्यान्डले भोगेको यो पहिलो हार हो।

न्युजिल्यान्डले दिएको १४३ रनको लक्ष्य यूएईले १५.४ ओभरमै मात्र ३ विकेट गुमाउँदै पूरा गर्यो। यूएईको जितमा कप्तान मोहम्मद वासिमले २९ बलमा ४ चौका र ३ छक्कासहित ५५ रन जोडे। त्यस्तै आसिफ खानले अविजित ४८ रनको योगदान दिए।

यसअघि दुबईमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा मात्र १४२ रन बनाएको थियो।

जसका लागि मार्क च्यापम्यानले ४६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटर जम्न सकेनन्। न्युजिल्यान्डको इनिङलाई ध्वस्त पार्न आयन खानले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिएका थिए।

अब सिरिजको तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ।

भदौ ३, २०८० आइतबार ०७:५३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।