के-के हुँदैछ आज : संसद् बैठकदेखि ललिता निवासको प्रतिवेदनसम्म

के-के हुँदैछ आज : संसद् बैठकदेखि ललिता निवासको प्रतिवेदनसम्म

काठमाडौं : सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै  एमालेले अवरुद्ध गर्दै आएको संसद् बैठक आज आइतबार १ बजे बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारको बैठक अवरुद्ध नहुने दाबी गरेका छन्। तर एमालेसँगको छलफलमा कुनै सहमति नभएकाले बैठक चल्ने या नचल्ने यकिन छैन।

एमाले सांसदहरू सुन तस्करी छानबिन गराउन समिति नै गठन गर्नुपर्ने पक्षमा देखिएका छन् भने सरकार समिति गठनको पक्षमा देखिएको छैन। संसद् खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले समेत पहल गर्दै एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए।

आजै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवासको सरकारी जग्गाको कागज पत्र किर्तेको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। तीन सय बढी प्रतिवादी हुनसक्ने मुद्दाको प्रस्तावित राय सुझाव सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको हो।

सीआईबीले दुई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र माधव नेपालको बयान नलिई प्रस्तावित राय बुझाउन लागेको हो।

सीआईबीले सरकारी दस्तखत छाप किर्ते र संगठित अपराधमा अनुसन्धान गरेको थियो। संगठित अपराधमा ६० दिनभित्र मुद्दा दर्ता हुनुपर्छ। प्रतिवादी धेरै भएकाले सरकारी वकिलले १० दिन अगाडि नै राय प्रतिवेदन मागेको थियो।

आजै पार्टी केन्द्रीय कार्यालयमा एकीकृत समाजवादीको पोलिट्व्युरो बैठक बस्दैछ।  दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिएका छन्।

बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने बताए।

आज पूर्वी नेपालका थारु समुदायले रैब पर्व मनाउँदै छन्। पश्चिम नेपालका थारु समुदायले यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँछन्।

यो पर्व  हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन/रैब पर्व वा बडका अटवारी का रुपमा मनाउने गरिन्छ। यस वर्ष बडका अट्वारी भने भदौ ३१ गते परेको छ।

आज १७ औँ सूचना दिवस। राष्ट्रिय सूचना आयोगले विशेष कार्यक्रम आयोजना गर्दैछ। 

भदौ ३, २०८० आइतबार ०७:२४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।