पर्यटन मन्त्रालयले पशुपति कोषलाई सोध्यो स्पष्टीकरण, ठेक्कादेखि माइन्युटसम्म माग्यो

पर्यटन मन्त्रालयले पशुपति कोषलाई सोध्यो स्पष्टीकरण, ठेक्कादेखि माइन्युटसम्म माग्यो

काठमाडौँ : पशुपति क्षेत्र विकास कोषको पसल कबल र पार्किङमा अनियमितताको आशङ्कामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोष नेतृत्वलाई आठ बुँदे स्पष्टीकरण पत्र पठाएको छ।

एक साताको म्याद दिएर मन्त्रालयले कोषले पशुपति क्षेत्रमा भाडामा दिएको पसल, भवन, पार्किङ र धर्मशालाको ठेक्का सम्झौता, आर्थिक पक्षबारे स्पष्टीकरण सोधेको हो।
मन्त्रालयले सम्झौताका प्रमाणित प्रतिलिपि, हालसम्म असुल भएको रकम र बक्यौता रकमबारे विवरण मागेको हो।

कोषले तिलगङ्गा, भण्डारखाल र उमाकुण्ड क्षेत्रमा पे पार्किङ ठेक्कामा दिएको छ। ती पार्किङको व्यवस्था र सम्झौताको प्रमाणित प्रतिलिपि, पार्किङ सञ्चालक, वनकालीस्थित बी–११ मा रहेको पार्किङको सम्झौताबमोजिम असुल हुनुपर्ने रकमको विवरण र हिसाब समेत मागेको छ।

मन्त्रालयले कोषले कार्यान्वयनमा ल्याएको काठमाडौँ महानगरपालिका–७ र ८ का जग्गा अधिग्रहण गर्ने सम्बन्धमा २०६६ भदौ ६ गतेको निर्णयको कार्यान्वयन,अधिग्रहण प्रक्रिया र  मुआब्जा शोधभर्ना दिने निर्णयबारे सोधेको छ।

असुलउपर तथा फर्स्योट गर्नुपर्ने बेरुजु, बेरुजु रकमको विवरण, हालसम्म फर्स्योट भएको विवरण, बाँकी बेरुजुको विवरण समेत मागेको छ।

मन्त्रालयले कोष सञ्चालक परिषद्बाट २०६४ वैशाख १ देखि २०७९ चैत मसान्तसम्म गरेको निर्णयको सक्कल निर्णय पुस्तिका समेत मागेको छ।

भदौ ३, २०८० आइतबार ०६:५९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।