रियालिटी शोको फाइनलमा घन्टौँ बसे प्रधानमन्त्री, सभामुख र मन्त्री

रियालिटी शोको फाइनलमा घन्टौँ बसे प्रधानमन्त्री, सभामुख र मन्त्री

काठमाडौँ : गायन, डान्स, बहादुरी, कमेडी। रियालिटी शोको कुनै कमी छैन नेपाली टेलिभिजनमा। तर भाग्यमानी रियालिटी शो बन्यो ‘मेरो डान्स युनिर्भस’ अनि मेरो भ्वाइस युनिभर्स।

यसको फाइनलमा अन्य हैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे अनि परराष्ट्रमन्त्री एनपी साउद उपस्थित थिए। पुरै कार्यक्रम अवधिभर हेरे अनि पुरस्कार दिएर हिँडे।

कार्यक्रम आफैँ विवादित हो यो। प्रधानमन्त्री कार्यालयमै छानबिन गर्न उजुरी परेको छ। एक करोड राशिको पुरस्कार भएर हो या अमेरिका निवासी आयोजक भएर हो गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको कार्यक्रममा प्रधानमन्त्री नै पुरस्कार दिन गइदिए। सभामुख र परराष्ट्रमन्त्री दर्शक हुन राजी भए।

विजेता थाइल्यान्डकी खुसी कार्की र सिक्किमका प्रितम राई

नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’को फाइनल थाइल्यान्डकी खुसी कार्कीले जितिन्।
उनले  नगद १ करोड रुपैयाँ जितेकी छन्।

बेल्जियमका देवी गर्बुजा मगर नेतृत्वको टिम फस्ट रनरअप भयो। यो टिमले नगद ३० लाख रुपैयाँ र सिक्किमका मिङ्मा डी लेप्चा नेतृत्वको टिम सेकेन्ड रनर अप भएसँगै यो टिमले नगद २० लाख नगद पायो।

गोरखाका स्वस्तिक परियार थर्ड रनरअप भएसँगै १५ लाख जिते। यो प्रतियोगितामा फोर्थ रनर अप भएका महोत्तरीका नेशन सुस्लिङ मगले १० लाख रुपैयाँको पुरस्कार जितेको घोषणा गरियो।

‘मेरो भ्वाइस युनिर्भस’को विजेता सिक्किमका प्रितम राई बने। उनले एक करोड पुरस्कार जिते।

शिशिर थताल फस्ट रनरअप भएर नगद ३० लाख रुपैयाँ जिते भने शरद हुमागाईँ सेकेन्ड रनर अप भएर नगद २० लाख जिते। परेश राई थर्ड रनरअप भएर ५ लाख ५० हजार र
फोर्थ रनर अप साईरान खाती बने।

भदौ ३, २०८० आइतबार ०३:२८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।