विपिनको ट्रान्स जेण्डर अवतार हिट होला कि भस्मे डन !
काठमाडौँ : कलाकार विपिन कार्कीको अभिनय रहेको दुई फिल्म एक भागवत गीता र पशुपतिप्रसाद-२ : भस्मे डनको पोस्टर एकै दिन सार्वजनिक भयो।
यी दुवै फिल्ममा विपिनको क्यारेक्टर लुकेको थिएन। तर जसरी पोस्टरमा पनि उनी नै हाबी भए यसले फिल्मको निर्माण पक्ष फिल्म चलाउन उनकै भर परेको प्रस्टै देखियो।
सुनिलकुमार थापाको निर्माण गरेको एक भागवत गीतामा विपिन मात्रै हैन सुहाना थापा र धिरज मगर पनि छन्। तर पोस्टरमा सार्वजनिक भएको ट्रान्स जेन्डरको विपिनको अवतारले धेरैलाई तान्ने निश्चित छ।
यही बेलामा ट्रान्स जेण्डरको कथामा आधारित वेभ सिरिज ताली हिट भइरहेको बेलामा विपिनको ट्रान्स जेण्डरको अवतारले कौतुहलता बढाउनु स्वाभाविकै हो। अधिकांश नेपाली फिल्ममा ट्रान्सजेण्डरको भूमिका कि हास्य पात्रको रूपमा राखिएको हुन्छ कि नेगेटिभ।
सार्वजनिक भएको ट्रेलरको आधारमा विपिनको चरित्र सकारात्मक देखिन्छ। यो फिल्म झरना थापाले निर्देशन गरेकी छिन्। फिल्म भदौको २९ गते रिलिज हुँदैछ।
शुक्रवारै भस्मे डन टिमले विपिन कार्कीको चिरपरिचित ‘भस्मे' अवतार रहेको दुई पोस्टर सार्वजनिक गर्यो। पोस्टरमा उनी नै हाबी भएका छन्। माता बनेकी स्वस्तिमालाई पनि पोस्टरमा राम्रै स्थान दिइएको छ।
फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका छन्। कार्तिक ४ गतेबाट रिलिज हुने फिल्मको कथा उही पुरानै शैलीको हुने हो या नयाँपन केही थपेका छन् निर्देशकले यो फिल्मको चासोको पक्ष यही नै हो।
दुवै फिल्म विपिनले आस गरेको फिल्म पनि हो। एकै दिन दुवैको पोस्टर रिलिज हुँदा भने कलाकारलाई प्रमोसन गर्न अलि कठिनै हुन्छ। तर उनले आफ्नो सामाजिक सञ्जालमा दुवै पोस्टरलाई उतिकै स्थान दिएका छन्।
एक भागवत गीताको पोस्टर सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन्' सबैमा माया।' अनि भस्मे डनको पोस्टर सेयर गर्दै लेखे' यसपालिको दसैँमा भस्मे डन ल।' दुवै पोस्टमा उत्तिकै सकारात्मक प्रतिक्रिया आएको देखिन्छ।
भदौ २, २०८० शनिबार २२:३१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।