नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा

नेपालको क्रिकेटमा सुदूरपश्चिमको योगदान महत्वपूर्ण : मन्त्री देउवा

धनगढी : सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले नेपालको क्रिकेटमा सुदुरपश्चिमको ठूलो योगदान रहेको बताएका छन्।

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको दोस्रो साधारणसभाको उद्घाटन समारोहमा मन्त्री देउवाले नेपाली क्रिकेटको व्यवस्थापन, समन्वय र खेलाडी उत्पादनका दृष्टिकोणले सुदूरपश्चिमले सधैँ अग्रणी भूमिका निर्वाह गरेको बताए।

सुदूरपश्चिमको क्रिकेटलगायत समग्र खेलकुदको विकासका लागि प्रदेश सरकारले आफनो तर्फबाट सक्ने सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। 

मन्त्री देउवाले फाप्ला क्रिकेट मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनलगायत काम अघि बढाइएको जानकारी दिए।

‘क्रिकेटसँगै सुदूरपश्चिमको खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘खेलकुदको विकासका लागि प्रदेश खेलकुद परिषद्ले परिणाममुखी काम देखाउन बाँकी छ।’

कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो वर्तमान कार्यकालमा कोरोना महामारीलगायत कारणले क्रिकेटको विकासका लागि पर्याप्त काम गर्न नसकेको स्वीकार गरे।

‘नेपाली क्रिकेट खेलाडीलाई न्यून पारिश्रमिक दिएर  खेलाउनु परिरहेको छ,’ क्यान अध्यक्ष चन्दले भने, ‘सातवटै प्रदेश सरकारले कम्तीमा पाँच खेलाडीलाई आत्मनिर्भर बनाउने गरी खेलकुदका योजना अगाडी बढाउनुपर्ने आवश्यकता छ।’

नेपाली क्रिकेटमा अब नाम र दाम कमाउन सक्ने वातावरण बनेको उल्लेख गर्दै उनले सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको बताए।

साधारणसभामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका क्रिकेट सङ्घका प्रतिनिधि सहभागी छन्।

भदौ २, २०८० शनिबार १७:१९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।