ठिकठिकै चलेका संगीतकारले गीत गाउन बोलाए, इन्टेन्सन बुझेपछि म आफैँ साइड लागेँ : गायिका बेनिशा पौडेल
‘हाम्रो यो माया कहिलै नछुटोस्’, ‘पर्दैन पर्दैन मलाई फकाउन’, ‘आँखैमा लाउने गाजल सकियो’ लगायत थुप्रै चर्चित गीतमा स्वर दिएकी गायिका हुन् बेनिशा पौडेल।
सन् २०१६ मा प्रसारणमा आएको ‘सुरशाला आइडल’की प्रतिष्पर्धी बेनिशाले चौथो संस्करणको नेपाल आइडलमा उत्कृष्ट सातसम्म पुगिन्। नेपाल आइडलबाट चर्चा चुलिएपछि गायनमा बेनिशाको व्यस्तता थप बढ्यो। एकपछि अर्को अवसरका ढोका खुले।
उनै बेनिशासँग सांगीतिक जीवन, रियालिटी शोहरूका अनुभव र भविष्यबारे उकेराले गरेको संक्षित कुराकानीः
पछिल्लो समय कतिको व्यस्त हुनुहुन्छ?
अहिले म यहि गीत संगीतकै काममा व्यस्त छु। यसैमा अहिलेसम्म राम्रो भइरहेको छ।
महिनामा कति वटासम्म गीत गाउनुहुन्छ?
ठ्याक्कै यति नै गाउँछु भन्ने त हुँदैन। जति पनि गाउन सकिन्छ। कहिले थोरै पनि हुन्छ भने कुनै महिना १५, २० वटा पनि पुग्छ।
तपाईं नेपाल आइडल सिजन ४ मा पनि प्रतिष्पर्धीका रूपमा जानुभयो। तपाईंका अधिकांश गीत त्यहाँ नजाँदै चलेका थिए, किन जानुभो?
त्यहाँ जानुको मुख्य कारण चाहिँ सिकाइ हो। नेपाल आइडल गएपछि नै मैले गीतसंगीत सम्बन्धी धेरै कुराहरू सिक्न पाएँ। हुन त त्यसअघि नै मैले ३५ वटा गीत गाइसकेकी थिएँ।
कि अझै चर्चामा आउन पाए हुन्थ्यो भन्ने लागेर हो?
अझै चलुम्, धेरैले मन पराइदिउन् भन्ने चाहना कसलाई हुन्न र? त्यहा गएपछि अझ धेरै दर्शकश्रोताले चिन्नुभयो।
त्यहाँको अनुभव चाहिँ कस्तो हुने रहेछ?
डर लाग्ने रैछ। एउटा सोचेर गइन्छ तर त्यहाँ पुगेपछि अर्कै हुन्छ। मैले त बाहिर र आइडलको हलमा पुग्दा धेरै फरक पाएँ। जब कम्पिटिसनमा गएको भन्ने कुरा दिमागमा पर्छ तब आफैँ डर लाग्दो रहेछ। डराउँदिन भन्दा पनि अटोमेटिक डर पैदा हुने रहेछ। अहिले पनि त्यो स्टेज सम्झिँदा डर लाग्छ।
टप ७ मा पुगेपछि आउट हुनुभयो, दुःख त अवश्य लाग्यो होला?
अफकोर्स, दुःख लागिहाल्छ नि! अब भोटिङ राउण्ड नपुगुन्जेल सबै जजको हातमा हुन्छ। भोटिङ राउण्डमा पुगेपछि चाहिँ अब दर्शकले कतिको मन पराइदिनुहुन्छ भन्ने हो। म टप ७ सम्म पुग्ने मौका पाए। यहि नै खुशीको कुरा हो। मलाई त्यहाँसम्म पुग्छु भन्ने नै थिएन।
अब आइडलभन्दा पनि अगाडि फर्किऔं, तपाईंलाई सानैबाट गीत गाउने रुचि थियो कि ठूलो भएपछि हो?
सानैबाट हो। बुवाममीले भन्नुभएको म सानैबाट गीतहरू गुनगुनाउँथेँ रे। चार वर्षको हुँदा नै मैले झापाको दमक महोत्सवमा गीत गाएको थिएँ। जति बेला मैले राम्रो गीत गाए भनेर आयोजकले एउटा ठूलो फोटो नै खिचिदिनुभएको थियो रे। जुन फोटो अहिले पनि छ। छोरीको चाहाना पूरा गर्न दमकमा नै बुबाममीले भोकल क्लासमा हाल्दिनुभयो।
संगीत क्षेत्रमा कत्तिको संघर्ष गर्नुपर्दो रहेछ?
संघर्ष त धेरै गर्नुपर्छ नि! यहाँको मुख्य कुरा भनेको बाटो नै पत्ता लगाउन सकिँदैन। आफू कताबाट जाँदा लामो समयसम्म टिकिन्छ भने सोच्दा सोच्दै समय बित्छ। जब बाटो पत्ता लाग्छ, त्यसपछि सबै आफ्नै मेहनतको कुरा हो। कति मेहनत गरिन्छ त्यति नै प्रतिफल प्राप्त गर्ने हो। कम्पिटिसनको जमाना भएकाले मेहेनतमै भर पर्छ सफलता पनि।
विदेशको पनि यात्रा गर्नुभयो है?
हजुर। अष्ट्रेलिया, रोमानिया लगायत यूरोपका केहि देशहरूमा पुगेँ। अहिले क्यानाडा र दुबईका लागि पनि कुरा आइरहेको छ। सायद केहि समयपछि त्यता जान्छु होला। कार्यक्रमका लागि अन्य ठाउँबाट पनि कुराहरू भइरहेका छन्।
सांगीतिक क्षेत्रमा प्रवेश गर्दै गर्दा नयाँ गायिकाहरूलाई कतिपय गायक तथा संगीतकारले गीत गाउन दिने बहानामा दुव्र्यव्यवहार गर्ने गरेको घटनाहरू पनि सुनिन्छन्। तपाईं यस्तो घटनामा पर्नुभयो कि भएन?
दुर्व्यवहार नै चाहिँ भन्न मिल्दैन होला। हेर्नुस्, यो क्षेत्रमा सबै खाल्का मान्छे छन्। सबै राम्रा छन् भन्ने पनि छैनन्। अनि कसैलाई पनि नराम्रो भन्न त मिल्दैन। सबैजना आफ्नो ठाउँमा राम्रो हुनुहुन्छ। तर, केहिको इन्टेन्सन अलिक फरक पाएँ।
फरक भन्नाले कस्तो?
हामी नयाँ हो नि त! कसैले म गीत गाउन बोलाउँछु भनेपछि हामी कति खुसी हुन्छौ। सुरूसुरूमा कति खुसी हुँदै गइन्छ। मनमा बल्ल–बल्ल गीत गाउन पाएँ भन्ने कति हर्ष हुन्छ। अनि उहाँहरूको इन्टेन्सन के हुन्छ भन्ने कुरा हामीलाई थाहा हुन्न। त्यहाँ गएर उहाँहरूको नियत बुझेपछि म आफैँ साइड लागेको अवस्था चाहिँ हो।
त्यसपछि के भयो?
उहाँहरूको हेर्ने दृष्टिकोण अलिक फरक पाएपछि कन्ट्याकलेस भएर बसेँ। त्यसपछि मैले उहाँहरूसँग भेट्ने, बोल्ने केहि गरिनँ।
यस्तो व्यवहार चलेकै मान्छेहरूबाट आउने त होला नि! नाम चलेको मान्छेसँग गीत गाउन पाँउदा आफू पनि चलिन्छ कि भन्ने हुन्छ?
चलेको मान्छेहरूबाट यस्तो इन्टेन्सनले हेर्नुहुन्न। किनभने उहाँहरूलाई थाहा हुन्छ कि के गर्दा कस्तो हुन्छ भनेर। ठिक ठिकै नाम चलेकाबाट बढी यस्तो हुँदो रहेछ। मैले अघि जो मान्छे भने नि उहाँ त्यस्तो चलेको मान्छे पनि होइन।
मैले तपाईंलाई यहि कुरामा फेरि प्रश्न गरेँ, तपाईं साइड लागेपछि फेरि कन्ट्याक गर्नुभयो कि?
त्यस्तो भएन। जे होस् मान्छे चिनियो मज्जाले। त्यहि अनुसार म आफूले आफैँलाई ट्याकल गरेर यो बाटो होइन रहेछ, अर्को बाटो जानुपर्ने रहेछ भनेर हिँडेको हो। थाहा पाउँदै, लड्दै जाने हो नि!
यस्तो अवस्था भएपछि नेपाल आइडल जानुभएको हो ?
म आइडलमा जानुभन्दा निकै अगाडिको कुरा हो यो। यो कुरा चाहिँ म भर्खर काठमाडौं आएको कुरा हो। किनभने मलाई केहि पनि थाहा थिएन। यो बेलामा म १८ वर्षको थिएँ, होस्टेलमा बस्थेँ। एक्लो पनि देखे होलान्, सानी सानी पनि थिए। यसलाई भन्यो भने मानिहाल्छे नि भन्ने सोचेका थिए होलान्। त्यो उमेरमा कसैले केहि भन्यो भने हो न हो लाग्ने रहेछ। जब उमेर अनुसार हरेक कुरा भोगेर ढल्कदै गइन्छ नि तबमात्रै बाटो छुट्याउन जानिँदो रहेछ।
विदेश लैजाने कुराहरूमा कतिपय आयोजकले यस्तै इन्टेनसनले हेर्छन् भन्ने सुनिन्छ, तपाईंलाई केहि यस्तो कुरा आयो?
अहँ, यसमा त मलाई आएको छैन र भएको पनि छैन। किनभने म त्यतिधेरै विदेश पनि गएको छैन। बाहिरबाट र यहाँबाट पनि त्यस्तो कुरा आएको छैन।
गीत गाउनुपर्यो भने तपाईं के कुरालाई बढी ध्यान दिनुहुन्छ। शब्द, संगीत कि पैसा?
म पैसा भन्दा पनि शब्द र संगीत नै हेर्छु। शब्द र संगीतसँगै त्यो गीतमा मेरो स्वर म्याच गर्छ कि गर्दैन भनेर हेर्छु। कतिपय नमिलेको ठाउँमा मिलाउन लगाउँछु। किनभने गीत भनेको सबैले सुन्ने हो नि त! अनि पैसाको कुरा आउला।
अब के आउँदै छ त स्रोता दर्शकका लागि?
हरितालिका तीजका लागि भनेर पाँच वटा जति गीत गाएको छु। एउटामा रचना रिमाल, एलिना चौहान, समिक्षा अधिकारी र मैले गाएको गीत ‘यो रातो गाला नि एक दिन त’ सार्वजनिक हुन बाँकी रहेका छ। अर्को शान्तीश्री परियार दिदी र मैले गाएको गीत ‘राजा मेरो लाहुरमा’ रहेको छ। यो गीत चाहिँ वास्तविक जीवनमा मेल खाने गीत हो।
अन्त्यमा अबको योजना के छ?
गीत संगीतमा नै कर्म गर्ने हो। त्यसकारण यसैमा संघर्ष गर्दैछु। यसैमा हुन्छु। यो बाहेक मेरो अरु केहि योजना छैन।
भदौ २, २०८० शनिबार १६:४९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।