पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज बनाइने
वीरगञ्ज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन्।
नेपाल आयल निगम वीरगञ्ज शाखाले आजदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गरिने उल्लेख गर्दै बिक्री वितरणलाई पनि सहज बनाइने बताए।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेकाले अब पेट्रोलियम पदार्थको आपूर्ति सहज र व्यवस्थित हुने उल्लेख गर्दै उनले पेट्रोलियम पदार्थमा हुने चुहावट नियन्त्रणका लागि ट्यांकरमा ‘टैंकट्रक लकिङ’ लगाउने कार्यसमेत सुरु भइसकेको जानकारी दिए।
पेट्रोलियम पदार्थको ढुवानी सहज भएसँगै बिक्री वितरणको बिलिङलाई सहज बनाउनका लागि आयल निगमको शाखाबाटै बिलिङ दिने कामको सुरुआत भइसकेकाले अब बिलिङका लागि अमलेखगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने मन्त्री रिजालले दाबी गरेका छन्।
वीरगञ्जबाट पेट्रोलियम पदार्थको बिलिङ सुरु भएसँगै पर्सा, बारा, रौतहट लगायतका जिल्लाका ढुवानी व्यवसायीलाई सहज हुने उल्लेख गर्दै उनले यसबाट चुहावट नियन्त्रणमा समेत मद्दत पुग्ने बताए।
सो अवसरमा मन्त्री रिजालले बिलिङ काउन्टरबाट काटिएको पहिलो बिलिङ ढुवानीकर्तालाई प्रदान गरी उक्त कार्यको उद्घाटन गरेका छन्।
निगमको वीरगञ्ज शाखाबाट पेट्रोलियम पदार्थको बिलिङ हुँदै आएकामा २०७७ माघदेखि बन्द भएको थियो।
भदौ २, २०८० शनिबार १५:५८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।