गिरिको अस्तु विसर्जनका लागि काशी लगियो

गिरिको अस्तु विसर्जनका लागि काशी लगियो

काठमाडौं : नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ।

‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौंको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गंगा नदीमा विसर्जन गर्न लागेको हो।

नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ।

काठमाडौंदेखि काशीसम्मको यात्रा टोलीलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले शनिबार पशुपति क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच स्व गिरीको अस्तु हस्तान्तरण गरेर बिदाइ गरे।

गिरिको स्मृति दिवसका अवसरमा आज पशुपतिनाथ मन्दिर परिसरमा आयोजित ‘लोक एवं लोकतन्त्र सेतु गाथा’ विषयक श्रद्धाञ्जली अर्पण एवं सभाका वक्ताले राजनीतिक र समाजवादी चिन्तक गिरिको व्यक्तित्व तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा गर्नुभएको योगदानका बारेमा उनलाई स्मरण गरेका थिए।

स्व गिरिको अस्तु विसर्जन यात्रा शनिबार काठमाडौंबाट हेटौँडासम्मको हुनेछ। आइतबार वीरगञ्जमा बिहान गिरिका अनुयायीको उपस्थितिमा श्रद्धाञ्जलि अर्पणसँगै भारतको बनारसका लागि यात्रा अघि बढ्नेछ।

राति बनारस पुगेर गंगा नदीको मणिकर्निका घाटमा विधिअनुसार स्व गिरिको अस्तु विसर्जन गरिनेछ।

भदौ ४ गते बनारस विश्वविद्यालयमा भारतीय नेताको उपस्थितिमा प्रदीप गिरिको स्मृति कार्यक्रम गरिने बताइएको छ। सोही दिन साँझ प्रार्थनासभा आयोजना हुनेछ।

यात्रा टोली भदौ ५ गते काठमाडौं फर्कने अध्यक्ष शाहले जानकारी दिए।​

विसं २००४ असोज २४ गते जन्मनुभएका गिरिको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते निधन भएको थियो।

भदौ २, २०८० शनिबार १५:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।