सुन काण्डको अनुसन्धान सीआईबीले​​​​​​​ गर्छ, उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ

सुन काण्डको अनुसन्धान सीआईबीले​​​​​​​ गर्छ, उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ

कास्की : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन्। 

प्रेस सेन्टर नेपालले शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उल्लेख गरे।

गृहमन्त्री श्रेष्ठले सुन काण्डको सीआईबीले अनुसन्धानको प्रक्रिया अघि बढाउँदा दोषीहरू पत्ता लाग्ने र उनीहरूलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पारे।

उनले भने, ‘यससघि यस्तै काण्डमा संसद्बाट समिति बनाइयो, समितिको  रिपोर्ट आयो, सिद्धियो। अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ किलो सुन काण्डका लागि छानबिन समिति बनाइयो। समितिको रिपोर्ट आयो, अन्य केही पनि आएन। न सुन आयो, न सिफारिस कार्यान्वयन भयो।’

‘त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुवै प्रक्रिया अघि बढाउँछ। त्यसैलाई नै जिम्मेवारी दिनु उपयुक्त हुन्छ,’ उनले थपे।

श्रेष्ठले सुशासन र भ्रष्टाचार विरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको उल्लेख गरे।

‘सरकारले चालेको कदम कुनै पनि हालतमा विश्राम हुँदैन, गठबन्धनको सरकारलाई पनि अझ व्यवस्थित ढङ्गले अगाडि बढाउने, निरन्तरता दिने र सरकारले अहिले चालेको सुशासनको अभियानलाई पनि निरन्तरता दिने गरी अघि बढेका छौं,’ उनले भने।

भदौ २, २०८० शनिबार १४:०१:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।