भारतीय धर्मगुरुसँग मन्त्रीद्वयको गोप्य भेट, राष्ट्रपतिले भेट्न मानेनन्

भारतीय धर्मगुरुसँग मन्त्रीद्वयको गोप्य भेट, राष्ट्रपतिले भेट्न मानेनन्

काठमाडौं : २५ जनाको दलबलसहित आएका भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ यतिबेला नेपालमा छन्। 

उनले हिजो (शुक्रबार) राति उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग सानेपास्थित होटल भिभान्तामा गोप्य भेटघाट गरे। हिजो (शुक्रबार) राति अबेर मन्त्रीद्वयले धर्म गुरुसँग भेट गरेका हुन्।  

बागेश्वरले शनिबार (आज) प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम रहेको छ। प्रचण्डलाई भेटेपश्चात उनी शास्वतधामतिर लाग्नेछन्।

नेपाललाई हिन्दु राष्ट्र बनाउन उनले शीर्ष तहका नेता तथा मन्त्रीहरूलाई सुझाव दिने गरेको बताइएको छ।

राष्ट्रपति पौडेलले भेट्न मानेनन् 

धर्म गुरु बागेश्वर राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे। तर राष्ट्रपतिले ज्वरो आएको भनेर भेट्न नसक्ने सन्देश पठाएको बताइएको छ। स्रोतका अनुसार मिडियामा धेरै विवादका कुरा निस्केकाले राष्ट्रपतिले उनलाई भेट्न नचाहेको बुझिएको छ। 

शाश्वत धाममा शास्त्रीले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ। त्यहाँ दैनिक १५ हजारको उपस्थिति रहने अनुमान गरिएको छ। प्रवचन आयोजकका अनुसार आठ हजार टिकट अनलाइनबाट बुक भइसकेको छ। टिकटका लागि शुल्क भने लाग्दैन।

शास्त्रीलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो। उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ। 

भदौ २, २०८० शनिबार १२:२६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।