एमबीबीएस कोर्ष गर्न प्रमाणपत्र किर्ते गर्ने सातजनालाई प्रहरीले गर्यो सार्वजनिक

एमबीबीएस कोर्ष गर्न प्रमाणपत्र किर्ते गर्ने सातजनालाई प्रहरीले गर्यो सार्वजनिक

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’ मा एमबीबीएस कोर्ष अध्ययन गर्ने प्रयोजनका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ।  

शैक्षिक योग्यतामा अङ्क वास्तविकभन्दा थपघट गरी काम गरिरहेका र पढिरहेका सात जनालाई  पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।  

नेपाल प्रहरीले एमबीबीएस कोर्ष अध्ययन गर्न जाने प्रयोजनका लागि शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा पक्राउ परेका सात जनालाई शुक्रबार राति सार्वजनिक गरेको हो। 

पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाण्डौकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाण्डौका २८ वर्षीया पुनम थापा, बाग्मती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन्।

प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गरी यकिन गरी नक्कली भएको आधारमा पक्राउ गरी अनुसन्धान गरेको हो।

उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भदौ २, २०८० शनिबार ११:२५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।